सूचनाको शक्ति - The Power Of Information

        

१८ महिनामा सकिनुपर्ने विद्युत आयोजना चार वर्षमा पनि अधुरै

जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत आयोजनाको कामले अझै गति लिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता ९९८ किलोवाट रहेको छ । १८ महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

चुकेनी जलविद्युत आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ ।

निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए । आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ ।

यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनीपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् ।

विद्युत आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए । आयोजनाको काम दुई प्रतिशतमात्रै बाँकी भनेको महिनौं बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ ।

बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरबाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए । जलविद्युत आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले शुरूको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए ।

उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १३:२०

लोकप्रिय