सूचनाको शक्ति - The Power Of Information

        

एनसेल प्रकरण

एनसेल काण्डमा एमालेको रहस्यमय मौनता, राष्ट्रघातलाई मलजल

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने भित्रभित्रै त्यसमा सहमति जनाइरहेका छन् ।

निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक संस्था एनसेल प्रकरणमा उच्च राजनीतिक व्यक्तिहरूको संलग्नतामा एनसेलको स्वामित्व पाँच वर्षभित्र सरकारको स्वामित्वमा आउन नदिने प्रपञ्च सुरु भएको छ । यसैक्रममा संसदीय समितिहरूले एनसेलको छानबिन गर्ने नाटकीय होडबाजी गरिरहेका छन् ।

एनसेलको अहिलेको विवाद कति खर्बमा शेयर बिक्री गर्यो, त्यसको हिसाबकिताब हेर्ने होइन, एनसेललाई नेपाल सरकारको स्वामित्वमा आउन दिने दिने कि नदिने भन्ने हो । त्यसका लागि सरकार भने एनसेलको स्वामित्व नेपाल सरकारमा आउनै नदिने गरी ऐन नियम तथा कार्यविधि बनाउन लागिपरेको छ । सञ्चार मन्त्रालयमा अड्किएको नेपाल दुरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्न बनेको विधेयक अहिलेसम्म फिर्ता भएको छैन ।

सञ्चार सचिवको अदलबलद भएसँगै यो ऐन एनसेलमैत्री हुने बताइएको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच साँठगाँठ भइसकेको छ । त्यसैले यति ठूलो राष्ट्रघातमा एमाले मौन बसेको छ । सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने भित्रभित्रै त्यसमा सहमति जनाइरहेका देखिन्छन् ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको स्रोतको दाबी छ । घट्नाक्रमले पनि यसलाई पुष्टि गर्दै ल्याएको छ । माओवादी लडाकु भ्रष्टाचारलाई जोगाउन सहयोगी भूमिका खेलेका तत्कालीन महालेखा परीक्षक टंकमणी शर्मा एनसेल खरिद बिक्री प्रकरणको कागजात चेकजाँच गर्ने प्रमुख बन्नु र एनसेलले अहिलेसम्म कुनै पनि विवरण उपलब्ध नगराउनु त्यसको पुष्टि हुनु हो ।

एनसेलको कर छली प्रकरणमा सहयोगी भूमिकामा रहेका हालका मुख्यसचिव वैकुण्ठ अर्याललाई गत असार २ गते अवकाश जानबाट रोकेर सत्ता साझेदार दल कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड दुवैले मुख्यसचिवमा नियुक्त गरेका थिए । उनको नियुक्तिका बेला दूरसञ्चार ऐनको मस्यौदामा २५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेललाई सहयोग पु¥याउने गरी सो प्रावधान हटाइएको छ ।

२०७६ वैशाख २६ गते हालका प्रधानमन्त्री प्रचण्डले आफ्नो ५०औं वैवाहिक वर्षगाँठ पनि एनसेलसँगै सम्बन्धित व्यक्ति निरजगोविन्द श्रेष्ठको घरमा मनाएका थिए । उनको सुनाकोठीस्थित घरमा वैवाहिक वर्षगाँठ मनाएका प्रचण्ड र उनका आसपासका नेताहरूले एनसेललाई सहयोग पुर्याउँदै आएका थिए । आफ्नो विगत बाहिर आउने देखेपछि प्रधानमन्त्री प्रचण्डले ऐनसेल खरिदबिक्रीको विवादका सम्बन्धमा सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर छलफलसमेत गरेका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर उपचार खर्च सबै एनसेलले ब्यहोरेको थियो । त्यति मात्र होइन, एनसेललाई सरकारी स्वामित्वमा आउन नदिने योजना दुई वर्षअघि संसद्को कृषि समितिकी सभापति आरजु देउवा सिंगापुर जाँदा नै भएको स्रोतको दाबी छ । २०७८ सालमा केपी ओली नेतृत्वको सरकार ढल्नुअघि २०७७ फागुनमा सिंगापुर पुगेकी आरजुमार्फत दूरसञ्चार ऐन २०५३ मा उल्लेख भएका जटिल प्रावधान हटाउने योजना बनेको थियो ।

सोही योजनामुताबिक दूरसञ्चार ऐन २०७९ को मस्यौदा आएको र सो मस्यौदा मन्त्रिपरिषदमा पुग्नै नपाई मन्त्रालयमै अड्केपछि एनसेलको सबै सेयर नेपाली नागरिकका नाममा पारिएको स्रोतको दाबी छ । सत्ता गठबन्धनभित्रका केही नेताले पनि त्यसमा चासो राखेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एनसेललाई जोगाउन परिवर्तन गर्न लागेको कुरमा कडा शब्दमा आलोचना गरे पनि प्रधानमन्त्री प्रचण्डले विगत र अहिलेको समितिबारे केही बोलेका छैनन ।

कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक मिलेमतो रहेको अभिव्यक्ति दिएका छन् । तर, आफ्नै पार्टीका नेता र प्रधानमन्त्रीबारे उनी पनि बोल्न सकेका छैनन् । एनसेल प्रकरणमा प्रतिनिधिसभाका १० मध्ये चार समितिले हात हालेका छन । अर्थ, लेखा, राज्य व्यवस्था र सूचना प्रविधि समितिले सक्रियता देखाए पनि उनीहरूको उपलब्धी शून्य बराबर छ । २० मंसिरमा लेखा समितिले एनसेलको सेयर खरिद–बिक्रीमा रोक लगाउन निर्देशन दिँदै अर्काे बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो ।

२० मंसिरमै अर्थ समितिले सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकायसँग कारोबारको विवरण लिने र सञ्चारमन्त्रीसहित विभागीय अधिकारी बोलाएर वैधता स्पष्ट गर्न लगाउने निर्णय गर्याे । भोलिपल्ट सरकारले छानबिन समिति गठन गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिको २२ मंसिरको बैठकले एनसेल प्रकरणमा थालिएको काम–कारबाहीबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गर्याे । २५ मंसिरमै प्रधानमन्त्री आएर ब्रिफिङ गर्न तयार भए । तर, एमालेको देशव्यापी अभियानका कारण समिति बैठक बस्न नसक्दा राज्य व्यवस्थाले ३ पुसमा प्रधानमन्त्री बोलाएर छलफल गर्यो ।

राज्य व्यवस्थाको छलफलमा प्रधानमन्त्रीसहित सञ्चारमन्त्री रेखा शर्मा, मुख्यसचिव अर्याल, दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायत सम्बद्ध सबै अधिकारी सहभागी भएपछि अन्य समितिको छलफलको औचित्य नै सकिएको थियो । यसरी एनसेललाई सहयोग पुग्नेगरी राज्यव्यवस्था समितिमै उपस्थित भएर सबैले जवाफ दिएपछि अन्य समितिमा जानुपर्ने झन्झटबाट सरकारी निकाय मुक्त भयो । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेपछि विवाद सतहमा आएको हो । आजियाटाले आचार्यको स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो ।

आजियटाले कुल ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्ततानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ । आचार्य स्पेकट्रलाइट युकेको सञ्चालक हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना सेयर खरिद बिक्री नहुने भए पनि यी दुई कम्पनीबीच सेयर खरिद बिक्रीको सहमति भएको थियो । सतिशलाल र उनका भाइ सचिनलाल आचार्यले एनसेलको ८० प्रतिशत सेयर खरिद गरिसकेका छन् ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ०९:०२

लोकप्रिय