सूचनाको शक्ति - The Power Of Information

        

फर्जी कागज र प्रभावमा ‘माननीय’ र ‘प्रमुख सल्लाहकार’

लामो समयदेखि विभिन्न निकाय र राज्य संयन्त्रलाई समेत गुमराहमा पारी कागज पत्र बनाउने र त्यसैका आडमा आफूलाई माननीय घोषणा गर्दै हिँड्ने जगदीश वैद्यले सडक र पार्कको नामकरण नै आफ्नो नाममा गराउन सफल भएका छन् । वैद्यको यो कार्य कालीकोट जिल्लाको तिलगुफा नगरपालिकाको राजपत्रमा छपाउन लगाएपछि सार्वजनिक भएको हो ।

आफूलाई प्राडा भनी उल्लेख गर्ने जगदीश वैद्यको आफू ७५३ स्थानीय तहमध्ये करिब दुई तिहाइको प्रमुख सल्लाहकार रहेको दाबी छ । ‘माननीय विशिष्ट समाजसेवी प्राडा जगदीश वैद्य’ उल्लेख गराई राज्यका विभिन्न निकायबाट पत्र बनाउने पछिल्लो क्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट लेखाएको पत्रमा पनि ‘नेपालको ६७२ पालिकाहरूको प्रमुख सल्लाहकार पदका रही कामकाज गर्दै आउनुभएको’ भनी उल्लेख छ ।

वैद्य जेभी फाउन्डेसनका केन्द्रीय अध्यक्ष रहेको पनि उल्लेख छ । २०८० मङ्सिर १५ गते समितिका सचिव सुरजकुमार दुराले हस्ताक्षर गरी दिएको धन्यवाद पत्रमा उक्त विवरण खुलाइएको छ । तर त्यसबारे आफूलाई कुनै जानकारी नभएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए । जाजरकोट भूकम्पपछि राहत दिने सन्दर्भमा भने आफू वैद्यसँग गएको उनले बताए ।

सङ्घीय संरचना अनुरूपमा स्थानीय तहहरूलाई फर्जी कागजपत्र र फोटो देखाउँदै उच्च नेतृत्वसम्मलाई गुमराहमा राख्ने काम अहिले गरे पनि यस्तो कार्य लामो समयअघिकै निरन्तरता हो । त्यसै आधारमा स्थानीय तहका जनप्रतिनिधिले स्वघोषित प्राडा वैद्यले स्थानीय तहको सामुदायिक भवन, पार्क, सडक, खानेपानी, विद्यालय भवन लगायतका भौतिक पूर्वाधार निर्माणमा आर्थिक र भौतिक लगायतका सामाजिक कार्यमा सहयोग गर्ने भएपछि वैद्यलाई प्रमुख सल्लाहकारको उपाधि प्रदान गर्दै आएका हुन् ।

पछिल्लो समय कालिकोटको तिलागुफा नगरपालिकाको गत पुस ३ गते बसेको नगर कार्यपालिकाको बैठकले वैद्यलाई नगरको प्रमुख सल्लाहकारसँगै वैद्यको नाममा नगरको एक सडकको समेत नामकरण गरी नगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरेको छ । तर आज्ञाले भनी राजपत्र छपाउने प्रमुख प्रशासकीय अधिकृतले नै त्यसबारे आफूलाई केही थाहा नभएको बताए । नगरपालिकाका उपप्रमुखले पनि सडक र पार्क कसैका नाममा नामकरण गर्ने निर्णय नभएको बताए ।

तिलागुफा नगरपालिकाका प्रमुखले भने त्यस्तो निर्णय भएको बताए । नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले उनलाई नेपाल सरकार र विभिन्न पालिकाले दिएको उपाधिको ‘डकुमेन्ट’ हेरेर आफूले पनि उहाँलाई प्रमुख सल्लाहकारको उपाधि दिएको र सडक र पार्क नामकरण गरिएको बताए । ‘उहाँलाई दिएको उपाधि नक्कली वा सक्कली हेर्ने निकाय वा व्यक्ति आफू होइन,’ उनले भने, ‘वैद्यका नाममा पार्क र सडक बनाउँदा उहाँले सहयोग जुटाउने भएकाले आफूले उहाँको नाममा सडक मार्ग बनाउन लागेको हो ।’

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले पुस ३ गतेको नगर कार्यपालिका बैठकमा वैद्यलाई प्रमुख सल्लाहकारसँगै उनका नाममा सडक नामकरण गर्ने निर्णय नभएको बताए । उनले भने, ‘यो विषय मैले आज थाहा पाएँ, त्यो दिन निर्णय भएको छैन, यसबारे बुझ्ने छु ।’ राजपत्रमा नाम भएका नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्लले पनि वैद्य सडक मार्ग नामकरण गर्ने निर्णय भएको आफूलाई जानकारी नभएको बताए ।

अयोध्याको यात्रा रद्दको दाबी

अझ रोचक कुरा के छ भने वैद्यले त्यही कालिकोटको पार्क उद्घाटनमा कालिकोट जानुपर्ने भएकाले भारतको अयोध्यामा राममन्दिरको उद्घाटनमा जानुपर्ने भएकाले आफू अयोध्या नजाने भनी फेसबुक पेजमा लेखेका थिए । त्यो र अन्य विषयमा पनि गोरखापत्रले सम्पर्क गरेपछि उक्त फेसबुक पोस्ट हटाइएको छ । त्यसको गोरखापत्रले पिडिएफ बनाएर राखेको फेसबुक पेजको विवरणमा त्यो सुरक्षित छ । वैद्यले प्रयोग गर्दै आएको ‘प्राध्यापक डाक्टर’ उपाधि स्वघोषित भएको पाइएको छ ।

कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पद प्राप्त गरेका छैनन् । उनले सुदूरपश्चिम विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गरेकाले ‘डाक्टर’ लेख्दै आएको बताउँदै आएका छन् । सो विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले २०७४ सालमा विश्वविद्यालयको प्राज्ञिक परिषद्ले वैद्यलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको तर सभाले सो निर्णयलाई पारित नगरेको जानकारी दिए । ‘प्राज्ञिक परिषद्को निर्णयलाई सभाले पारित गर्नुपर्छ । प्राज्ञिक परिषद्को निर्णयका आधारमा मानार्थ उपाधि प्राप्त गरेको कानुनी रूपमै मिल्दैन,’ उनले भने ।

सुदूरपश्चिम विश्वविद्यालयका एक पूर्वपदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, ‘वैद्यले विश्वविद्यालयलाई सरस्वतीका दुई वटा मूर्ति दिनुभएको थियो । त्यसै मूर्तिसँग तत्कालीन पदाधिकारीले मानार्थ उपाधि साट्ने निर्णय गरेका थिए । तर त्यो निर्णय पारित हुन सकेन ।’ वैद्यले विश्वविद्यालयलाई सरस्वतीका मूर्ति उपलब्ध गराउने कार्यसमेत गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतलाई मूर्ति उपलब्ध गराएर ‘विशिष्ट समाजसेवी’को प्रमाणपत्र लिन सफल भएका छन् ।

महासङ्घलाई थाहा छैन

७५३ स्थानीय तहको प्रमुख राष्ट्रिय सल्लाहकार भने पनि गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भने प्राडा जगदीश वैद्यलाई आफूले चिन्दै नचिनेको र उहाँलाई कसले माननीय भनी उपाधि दियो र प्रमुख सल्लाहकार बनायो, आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘४६० वटा गाउँपालिकामध्ये उहाँ कुन कुन गाउँपालिकामा प्रमुख सल्लाहकार हुनुहुन्छ भन्ने पनि आफूलाई जानकारी छैन ।’ आफूले उनी प्रमुख सल्लाहकार भएको सम्बन्धित गाउँपालिकामा बुझ्ने स्पष्ट पारे ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहले कसैलाई पनि सल्लाहकार राख्न पाउने व्यवस्था नभएकाले वैद्यलाई आफ्नो नगरपालिकाको प्रमुख सल्लाहकार भनेर नराखेको बताए । पालिकाकाले सल्हकार भनी राख्नु नै कानुन सम्मत नभएको उनले स्पष्ट पारे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्राडा जगदीश वैद्यलाई माननीय र प्रमुख सल्लाहकार भनी दिएको उपाधिबारे आफू र आफ्नो मन्त्रालयलाई जानकारी नभएको बताए । उनले भने, ‘स्थानीय तहका प्रमुखले के के गरे आफूलाई जानकारी छैन ।’

वैद्यले भने आफूले पालिकाहरूलाई गरेको सहयोगका आधारमा प्रमुख सल्लाहकार पद दिएको दाबी गरे । अयोध्या जाने कार्यक्रम रहेकामा कालिकोट जानुपरेको भनी फेसबुकमा लेखेको जिज्ञासामा भने कर्णालीका अन्य क्षेत्रमा पनि जानुपर्ने भएकाले अयोध्या नगएको बताए । तर उनी कालिकोट पनि नगई काठमाडौँमै रहेको उनले कार्यालयमा आएर कुरा गर्न भनेबाट पुष्टि भएको छ । २०५० को दशकदेखि नै वैद्यको यस्तो फर्जी काम हुँदै आएको हो । तत्कालीन नेतृत्वलाई समेत गुमराहमा पारी नक्कली पत्र बनाएर विभिन्न कार्य गरेको समाचार गोरखापत्र दैनिकले २०५३ मा नै प्रकाशित गरेको र प्रहरी कारबाही भएको थियो ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ०८:२८