सूचनाको शक्ति - The Power Of Information

        

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, सेलिब्रेटीको लर्को

भारतको अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको प्राणप्रतिष्ठा गरेका हुन् । भारतीय समय अनुसार सोमबार दिउँसो १२ बजेर २९ मिनेटको शुभसाइतमा मन्दिरको प्राणप्रतिष्ठाको मुख्य पूजा सुरु भएको थियो ।

प्राण प्रतिष्ठा कार्यक्रमपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जहाँ राम मन्दिर बनाउने भनिएको हो त्यहीँ बनाइएको बताए । आफूलाई खुशी लागेको बताउँदै उनले भने, ‘५०० वर्षपछि मनमा यस्तो भावना आइरहेको छ कि जुन कुरा व्यक्त गर्न शब्द नै मिलिरहेको छैन । निश्चित रूपमा तपाईंहरूलाई पनि यस्तै महसुस भइरहेको होला ।’

मोदी राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रमका मुख्य यजमान थिए । मोदीका साथै योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत, युपीका राज्यपाल आनन्दी बेन पटेललगायतका कार्यक्रममा सहभागी थिए । प्राणप्रतिष्ठा भइरहेको समयमा भारतीय वायुसेनाको हेलीकोप्टरले पुष्पवृष्टि गराएको थियो । कार्यक्रममा देशभरका सयौँ हस्तीहरूलाई बोलाइएको थियो ।

अमिताभ बच्चन, रजनिकान्त, सचिन तेन्दुलकर, मुकेश अंबानी, नीता अंबानीलगायतका सेलिब्रेटीहरू कार्यक्रममा पुगेका थिए । कार्यक्रममा हजारौँ सहभागी भएको त्यहाँका मिडिया रिपोर्टले उल्लेख गरेका छन् । सोनू निगम, अनुराधा पौड्याल, शंकर महादेवन लगायतका कलाकारले रामभजन गाएर कार्यक्रम शुरु गरेका थिए ।

यसपछि श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरसँग जोडिएका कैयौँ विषयमा जानकारी गराएका थिए । राम मन्दिरमा बनाइएको रामको मूर्ति बनाउन कर्नाटकबाट ल्याइएको हो । मैसूरका अरुण योगीराजले रामको प्रतीमा बनाएका हुन् । उद्योगपति मुकेश अम्बानीले राम मन्दिरको प्राणप्रतिष्ठा गरीएको दिन पुरै देशमा उत्सवमय भएको बताए । नीताका अनुसार यो दिन ऐतिहासिक हो ।

सायना नेहवालले भारतीयका लागि यो विषय गर्वको विषय भएको बताइन् । आफूलाई कार्यक्रममा बोलाइएकोमा उनले कृतज्ञता व्यक्त गरिन् । विवेक ओबरायले कार्यक्रमको माहोल जादुमय भएको उल्लेख गरे । यूपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवले पनि कार्यक्रमप्रति खुशी व्यक्त गरे । कार्यक्रममा भारतीय सेलिब्रेटीहरू कंगना रनौत, संघ प्रमुख मोहन भागवत, नीता अंबानी, मुकेश अंबानी, सचिन तेंदुलकर, उमा भारतीलाई पनि बोलाइएको थियो ।

यस्तै एक्टर पवन कल्याण, निर्देशक सुभाष घई, एक्टर चिरंजीवी, कैलाश सत्यार्थी, अनू मलिक, रणबीर कपूर, आलिया भट्ट, विक्की कौशल, कटरीना कैफ, जैकी श्राफलाई पनि कार्यक्रममा बोलाइएको थियो । यस्तै योगगुरु रामदेव, धीरेंद्र शास्त्री, अनिल कुंबले, अनुपम खेर, अभिनेत्री कंगना रनौत, विवेक ओबरय र बैडमिंटन खिलाड़ी सायना नेहवाल लगायतका सेलिब्रेटीहरू उपस्थित थिए । सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए ।

राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो । मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउन माग गर्दै आएका थिए । सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो । सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राणप्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए । मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ । प्राणप्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १६:३७

लोकप्रिय