सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

कर्णाली प्रदेश अस्पताल ।

कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरीय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपणसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पाइनल इन्जुरी (मेरुदण्ड)को सफल शल्यक्रिया गरेको छ ।

अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थाेपेडिक विभागका प्रमुख डा.शुभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको शल्यक्रिया हुँदै आएको छ ।

सुर्खेतमै शल्यक्रिया सेवा सुरु भएपछि कर्णालीका ढाड सम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको डा.श्रेष्ठले बताए । महँगो र जटिल प्रकृतिको रोग भएकाले ढाडको शल्यक्रिया गर्ने बिरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको उनले जानकारी दिए ।

वि.सं.२०७९ असारदेखि सञ्चालनमा आएको उक्त कोषबाट स्पाइनल इन्जुरीको शल्यक्रिया गरेका बिरामीले एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् । आर्थिक अभावमा बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक लागि उपचार कोष सञ्चालन गरेको जनाएको छ ।

पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवा सञ्चालन हुँदै आएका छन् । कर्णाली प्रदेश अस्पतालको अर्थाेपेडिक विभागमा हाल डा.शुभ श्रेष्ठ, डा.पदम गिरी, डा.रवीन केसी, डा.तेजेन्द्र साउद, डा.किशोरकुमार विष्ट र डा.हिक्मत भण्डारीसहित छ जना चिकित्सक कार्यरत छन् ।

यसैबीच हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुसीयाली मनाएको छ । कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डा.डम्बर खड्का लगायत अर्थाेपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

स्रोत : रासस
प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १५:३१

लोकप्रिय