चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् । इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानोे घरलाई भने भूकम्पले क्षति पुर्याएनन् ।
उनले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए । पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लागेका छन् । फिस्लिङ–शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले मर्मतसम्भार गरेर पुरानै अवस्था राख्ने सोच बनाएका हुन् ।
घरधनी गुरुङले भने, ‘भत्काएर नयाँ घर बनाउने सोचमा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु ।’ यहाँ आउने पर्यटक यस घरमा फोटो खिचाएर मात्र फर्किने गरेको उनको भनाइ छ ।
स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो । फिस्लिङ–शक्तिखोरको कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउनेको भीड लाग्छ । एकपटक पुगेकाले इच्छाकामना गाउँपालिकाको वडा नं. २ मा पर्ने मायाटार भन्नसाथ यही घर सम्झिन्छन् । घरले मौलिकता दिएको छ । पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन् ।
यहाँ पर्यटकको चहलपहल हुन थालेको धेरै भएको छैन । स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङ लगायतका जिल्लाबाट हेटौँडा, वीरगञ्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पर्थ्यो । तर सडकमार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि मायाटार अनकन्टार बनेको थियो । केही वर्षयता फिस्लिङ–शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि माायाटारमा चहलपहल बढ्न थालेको हो ।
उनले भने, ‘यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन, यो सबै सडक बाटोकै कारण भएको हो, कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन् । घुम्न आउनेलाई मात्रै सहज नभई यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाएको छ, पहिले यस्तो ठाउँमा को आउँछ र भन्ने लाग्थ्यो । तर, बाटो पिच भएपछि त धेरै मान्छेहरू आउन थालेका छन् ।’
वडाध्यक्ष पञ्चबहादुर चेपाङ पनि फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै स्थानीयको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको बताउँछन् । अध्यक्ष चेपाङले भने, ‘सडक स्तरोन्नति भएसँगै यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको त छ नै स्थानीयले उत्पादनको गरेको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको छ ।’
काठमाडौँबाट हेटौँडातर्फ जाने केही यात्रुले शक्तिखोर–फिस्लिङ सडक प्रयोग गर्ने गरेका छन् । यस कारण पनि यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन् । यो बाटो पृथ्वीराजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट चितवनको पुरानो सदरमुकाम हुँदै उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । चितवन