सूचनाको शक्ति - The Power Of Information

        

कटन क्याण्डीमा अखाद्य रंग ‘रोडामाइन बी’, बिक्री वितरण गरे कारवाही

सरकारले काठमाडौँ तथा देशका विभिन्न स्थानमा खुला रुपमा बिक्री वितरण हुँदै आएका रंगिन कटन क्याण्डी प्रयोग नर्गन सचेत गराएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै उक्त क्याण्डीमा मानव स्वास्थ्यमा गम्भिर असर पुर्याउने अखाद्य रंग ‘रोडामाइन बी’ मिसाइएको जनाएको छ ।

विभागले प्रयोगशाला जाँच विश्लेषणबाट अखाद्य रङ ‘रोडामाइन बी’को प्रयोग भएको पाइएकाले आफ्ना बालबालिकालाई उक्त क्याण्डीको प्रयोग गर्न नदिन सचेत गराएको हो । विभागले सूचनामा विभागबाट अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएकाबाहेक खुला रुपमा बिक्रीवितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न भनेको छ ।

विभागले त्यस प्रकारको अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन निर्देशन समेत दिएको छ । सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन–नियम बमोजिम कारबाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १०:३७