म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए । ‘कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाँडेर खनजोत गरी करेसाबारी बनाएका हौँ’, उनले भने, ‘करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।’
शारीरिक व्यायाम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीमा आत्मनिर्भर बन्नका लागि सन्देश प्रवाह गराउन गत वैशाखमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले श्रमदान अभियान सुरु गरेका थिए । अधिकृत पौडेलको अभियानमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र बाबियाचौरका बासिन्दाले साथ दिएका छन् ।
फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारी कुटो कोदालो हातमा लिएर करेसाबारीमा काम गरेको भेटिन्छन् । बर्खायाममा सिमी, लौका खेती भएको थियो । हिउँदमा बन्दा र काउली उत्पादन हुन थालेको छ । प्याज, लसुन, धनियाँ र साग खेती गरिएको छ । कार्यालय समयबाहेकको साँझ, बिहानको फुर्सद, शनिबार र अन्य सार्वजनिक बिदाका दिन करेसाबारीमा श्रमदान गर्ने गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाले बताए ।
करेसाबारीको डिलतर्फ घेराबार गर्न गाउँपालिकाले रु ३७ हजार खर्च गरेको छ । अन्य सबै काम श्रमदानबाट गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । प्रत्येक शनिबार बिहान ७ देखि १० बजेसम्म श्रमदानका लागि सहभागी हुन आग्रह गरिएको छ । उत्पादन भएको तरकारी जनप्रतिनिधि र कर्मचारीले उपभोग गर्दछन् । घरायसी उपभोगका लागि आफैँ तरकारी उत्पादन गर्नुपर्ने सन्देश दिन खोजिएको कृषि प्राविधिक बानियाले बताए ।
प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गरिएको हो । रोगकिरा नियन्त्रणका लागि पनि जैविक विषादीको प्रयोग गरिएको करेसाबारीलाई प्रदर्शनीस्थलको रूपमा विकास गर्ने योजना रहेको छ । व्यावसायिक तरकारी खेतीबाट आयआर्जनका अलावा करेसाबारी बनाएर घरायसी उपभोगका लागि तरकारी खरिद घटाउन सकिन्छ । व्यायामका लागि करेसाबारीको काम गर्दा स्वस्थ र शारीरिक तन्दुरुस्त हुने अनुभव जनप्रतिनिधि र कर्मचारीले सुनाए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । म्याग्दी