नेपालमा रोजगारी नभएर विदेशिनेको सङ्ख्या बढ्दो भए पनि नेपालमै उद्यम गर्न चाहने र गर्नेहरु प्रशस्तै छन् । वैदेशिक रोजगारीका लागि जाने दैनिक हजारौँ युवाको भीडमा यहाँको माईजोगमाई गाउँपालिकाका काफ्ले दाजुभाइ भने विदेश नजाने सोचका साथ गाउँमा नै सिताके च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
उक्त गाउँपालिका–६ स्थित प्याङका काफ्ले दाजुभाइ सिताके च्याउ खेतीबाटै भविष्यका लागि आयआर्जनको उपाय खोजिरहेका छन् । घनेन्द्र काफ्ले र रामप्रसाद काफ्लेले च्याउ उत्पादन गरी आफै बजारसम्म पुर्याएर बिक्रीसमेत गर्दै आएका छन् । पूर्वी नेपालका विभिन्न बजार तथा मार्टमा उनीहरूको उत्पादन पुगेको हुन्छ ।
हाल विराटनगर, धरान, विर्तामोड, दमक तथा जिल्लाकै विभिन्न बजारमा आफ्ना उत्पादन पुर्याउने गरेको उनीहरूको भनाइ छ । भारतका विभिन्न बजारमासमेत आफ्ना उत्पादनको प्रशस्तै माग रहेको घनेन्द्र बताउँछन् । कुनै समयमा त भारतबाट माग आएपछि उही नै पु¥याइदिने गरेको उहो उल्लेख गर्छन् ।
‘एकपटक खाएपछि आफै पनि फोन गरेर मगाउँछन्,’ घनेन्द्र भन्छन् । सुरुमा ५०० काठको मुडाबाट सुरु गरिएको च्याउखेती विस्तार भएर हाल तीन हजार ५०० मुडामा विस्तार भइसकेको छ । सो मुडाबाट दैनिक २० किलो भन्दाबढी च्याउ उत्पादन हुँदै आएको छ भने मासिक ३०० किलोसम्म उत्पादन हुने गरेको छ ।
प्रतिकिलो ८०० देखि एक हजार रूपैयाँसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसाद बताउँछन् । उत्पादित च्याउलाई प्रायः ग्रेडिङ गरेर बजारसम्म लैजाने गरिएको छ । राम्रो र ठूलो दानाको प्रतिकिलो एक हजार रूपैयाँदेखि उक हजार दुई सयसम्ममा बिक्री हुने र सानो दानाको प्रतिकिलो ६०० देखि ८०० रूपैयाँसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ ।
घरमै बसेर बसेर च्याउखेती गर्दा मासिक दुई लाख रूपैयाँ कमाइ हुने गरेको, र घरका परिवार सबै नै च्याउमा लागेको रामप्रसाद बताउँछन् । आत्मनिर्भर हुनका लागि विदेश नै जानुनपर्ने उदाहरण बनेका काफ्ले दाजुभाइ सिताके च्याउखेती तथा अन्य कृषि पेसाबाट मनग्य आम्दानी हुनेमा जोड दिन्छन् ।
तीन वर्षअघि यो खेती गर्न सुरु गरिएको र सुरुमा जमिन भाडामा लिएर खेती सुरु गरिएकोमा आफ्नै जग्गामा संरचना निर्माण तयार पारेपछि सो जमिन फिर्ता दिँदा ३० लाख रूपैयाँ घाटा भएको थियो । आफ्नै जमिनमा उत्पादन हुन थालेपछि भने त्यो बेलाको घाटा हाल उठिसकेको घनेन्द्र बताउँछन् ।
यो च्याउको उत्पादन १२ महिना नै गर्न सकिने भएकाले आधुनिक प्रविधिको प्रयोग र आफैमा दक्षता भए खेती गर्न खास समस्या हुँदैन । जंगलमा उत्पादन हुने काठको मुडामा यसको खेती गर्न सकिन्छ । उत्पादित च्याउ बजारसम्म लैजाने गरेका काफ्ले दाजुभाइ बिचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउँछन् ।
बिचौलियाले राखेको च्याउ तीन दिनसम्म नबिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको विगतका घटनाले देखाएको र बिचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमासमेत अन्योल देखापर्न सक्छ । आफैले उपभोक्तसमक्ष पुर्याउँदा ताजा उपभोग गर्न पाइने र स्वादमासमेत फरकपर्ने गरेको छ ।
ताजा च्याउको स्वाद मीठो हुने तर ओइलाएको च्याउको स्वादमा फरक पर्ने भएकाले आफैले बिक्री गर्नुपरेको घनेन्द्रको भनाइ छ । विवाह तथा अन्य चाडवाडका बोलामा यसको माग बढी आउने गरेको र कहिलेकाहीँ बजारको मागभन्दा बढी उत्पादन हुँदा समस्या हुने गरेको छ । सरकारबाट सहयोग मिले अझ धेरै गर्न प्रेरणा मिल्ने उनी बताउँछन् ।
यो च्याउको उत्पादन काठको मुडामा गरिन्छ । दरो र बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । बीचमा मुडा फेर्नुपर्दा झन्झट बढ्ने हुन्छ । बढी समयसम्म उत्पादन लिन प्रायः कट्टुसको मुडामा बीउ राख्ने गरिन्छ । काठमा प्वाल पारेरभित्र बीउ राखिन्छ । बीउ राखेको चार महिनासम्म सो मुडालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ ।
बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ । उत्पादन भइसकेपछि मुडालाई भिजाउनुपर्छ । प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ । प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्ले दाजुभाइको भनाइ छ ।
सिताके च्याउलाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । सामान्य होटलदेखि चारतारे होटलसम्म यसको उत्पादन पुग्न थालेको छ । महँगो भएकै कारण कम मात्र बजारमा बिक्री हन्छ । यसलाई झोल बनाएरसमेत खान र दालमा मिसाएर पनि खान सकिन्छ । सुकाएको यो च्याउको सुकुटी पनि बिक्री हुँदै आएको छ ।
सुकुटी चाहेको जुनसकै बेला पनि खान सकिने भएकाले प्रायः विदेशमासमेत निर्यात हुँदै आएको छ । स्वादअनुसार तावामा सेकाएर वा सेकुवा बनाएरसमेत प्रयोग गर्न सकिन्छ । तयारी यो च्याउको सुकुटी प्रतिकिलो १२ हजार रूपैयाँसम्ममा बिक्री हुँदै आएको छ । यसबाट भिटामिन डी पाइने भएकाले बालबालिका तथा वृद्धहरुका लागि अत्यन्तै राम्रो मानिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मंगलबारे