सूचनाको शक्ति - The Power Of Information

        

श्रीरामको प्राण प्रतिष्ठा

अयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा, सात हजार बढी बिशिष्ट पाहुना

भगवान श्री रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ ।

अयोध्यामा भगवान रामको आज अर्थात् सोमबार श्रीरामको अभिषेक समारोह हुँदैछ । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत धेरै भिभिआइपीहरू सहभागी हुनेछन् । सो मन्दिरका भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ । भगवान श्री रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन् । जसलाई पनि आज मन्दिरमा अभिषेक गरिनेछ । गत हप्ता राम मन्दिरको गर्भगृहमा रामको ५१ इन्चको मूर्ति राखिएको थियो । रामका तीन वटा मुर्ति तयार पारियो । जसमध्ये मैसूरका मूर्तिकार अरुण योगीराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो ।

अन्य दुई मुर्तिको प्रश्नमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘बाँकी दुई मुर्तिलाई पूर्ण सम्मान र सम्मानका साथ मन्दिरमा राख्नेछौं । एउटा मूर्ति हामीसँग राखिनेछ ।’ रामललाको पुरानो मूर्तिबारे उनले भने, ‘रामको नयाँ मूर्ति अगाडि राखिनेछ । मूल मूर्ति धेरै महत्त्वपूर्ण छ । यसको उचाइ ५ देखि ६ इन्च मात्रै छ, जसलाई २५ देखि ३० फिटको दूरीबाट देख्न सकिँदैन । त्यसकारण हामीलाई ठूलो मूर्ति चाहिएको हो ।’

आज १२ः२० बजेवाट अभिषेक हुँदैछ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मस्थल अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा श्रीरामको प्राण प्रतिष्ठा समारोहको लागि तयार छन् । पुस शुक्ल द्वादशीको अभिजित मुहूर्तमा दिउँसो १२ः २० बजे अभिषेक कार्यक्रम हुनेछ । सो समारोहका लागि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले अभिषेक समारोहमा तीन हजार भिभिआइपीसहित सात हजारलाई आमन्त्रण गरेको छ ।

ट्रस्टले भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा निमन्त्रणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निमन्त्रणा पाएका केहीले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । केहीलाई भने जानी बुझिकन निमन्त्रणा गर्न छुटाएको छ, जसले भारतका हिन्दुहरुबीच विभाजनको रेखा कोरेको छ ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले जुन गतिमा भारतमा हिन्दुत्वलाई अघि बढाएको थियो त्यसमा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहले ‘ब्रेक’ लगाएको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका छन् । प्राण प्रतिष्ठामा गरिएको निमन्त्रणाले भारतमा भाजपा निकट हिन्दु र अन्य पार्टी निकट हिन्दु भनि कित्ताकाट गर्न सुरू भएको छ । राम मन्दिरको गर्भ गृहको निर्माण कार्य चलिरहेको छ ।

केही काम पूरा हुन बाँकी नै छ । अहिले चौबीसै घण्टा गर्भ गृहको निर्माण कार्य चलिरहेको छ । यसैकारण भारत भित्र केहीले विरोध पनि गरिरहेका छन् । उनीहरुले प्रश्न पनि गरिरहेका छन्, ‘निर्माण कार्य सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गर्न किन हतार ?’ प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनेछन् ।

उक्त कार्यक्रममा देश–विदेशबाट थुप्रै अति विशिष्ठ पाहुनालाई निमन्त्रणा गरिएको छ । नयाँ राम मन्दिरको लागि पुजारी चयन गर्ने कार्य पनि जारी छ । पहिलो चरणमा आएका ३०० जनाको नामबाट २१ जना पुजारीलाई ‘सर्ट लिस्ट’ गरिएको थियो । उनीहरूलाई तालिम दिने काम अहिले भइरहेको छ । यिनैमध्ये एक जना अयोध्यास्थित राम मन्दिरको मुख्य पुजारी हुनेछन् ।

श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत राय भन्छन्, ‘तालिम सकिएपछि सनातन धर्म, वेद र शास्त्रमा उनीहरुको ज्ञानको परीक्षा लिने काम हुन्छ । केहीलाई यहीँ जागिर दिइनेछ भने अन्यलाई देशका फरक फरक मन्दिरमा पठाइनेछ ।’ राम मन्दिर कमिटीले वाराणासीका दुई जना पुजारीको नाम यसअघि नै घोषणा गरेको छ जसले प्राण प्रतिष्ठामा अगुवाई गर्नेछन् ।

‘अयोध्याका कर्मकाण्डी ब्राह्मण लक्ष्मीकान्त दीक्षित र गणेश्वर शास्त्री द्रविडको नाम सुनेर भन्ने छन् उनीहरु त हाम्रो पनि गुरू हुन् । काशी सधैँ विद्धानहरुको नगरी रहेको छ, जबकि अयोध्या लामो समयदेखि उपेक्षित बनेको छ,’ चम्पत रायले भने । काशीका विद्धान गणेश्वर शास्त्री द्रविड र लम्कीकान्त दीक्षितले प्राण प्रतिष्ठा गराउने उनले जनाए । राम मन्दिर कमिटीको यस फैसलाको अयोध्याका केही स्थानीय महन्थ तथा पुजारीले आपत्ति जनाएका छन् ।

प्राण प्रतिष्ठा गराउने पुजारी हजारौं मन्दिरको सहर अयोध्याबाट छनोट नगरिएकोमा उनीहरुको असन्तुष्टि छ । अयोध्याको हनुमान गढीका प्रमुख महन्थ, महन्थ धरमदासका गुरु बाबा अभिराम दासले सन् १९४९ मा रामललाको मूर्ति विवादित ढाँचामा राखेका थिए । ‘पूजा गर्न कोही पुजारी आउँदैछन् भने कसरी गराउँछन् त्यो हामी हेर्ने नै छौं । अब यहाँका पुजारीलाई पनि सहभागी गराउनुपर्छ । प्रतिष्ठा सबैले गर्नुपर्छ,’ महन्थ धरमदासले भनेका छन् ।

पहिले नै प्रतिष्ठित मूर्ति राखिने हुँदा धेरै काम गर्नु नपर्ने बुझाई उनको छ । मूर्तिका विषयमा भारतको सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ सहमति तथा असहमति जे भए पनि प्राण प्रतिष्ठा हुनुपर्ने भनाई उनको छ । जबदेखि राम मन्दिर निर्माणको काम सुरु भएको छ र अस्थायी स्थानमा रामको मूर्ति राखिएको छ, त्यस बेलादेखि त्यहाँ दर्शन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ । भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो ।

मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ । त्योमध्ये दुई एकड जमिन मन्दिर निर्माणको लागि छुट्टयाइएको थियो । हजारौं करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको नयाँ राम मन्दिरको गर्भ गृहको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । मन्दिर निर्माणको खर्च औपचारिक रुपमा घोषणा नगरिए पनि हालसम्म १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान छ । प्राण प्रतिष्ठा गर्ने मिति घोषणा भएपछि लाखौं श्रद्धालु अयोध्या आइरहेका छन् ।

उनीहरुले नगद मात्र होइन सुन–चाँदी पनि चढाइरहेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही दिनअघि केन्द्र सरकार र राज्य सरकार मिलेर ३ खर्ब भारतीय रुपैयाँभन्दा बढी रकम अयोध्याको विकास आयोजनामा लगानी भएको घोषणा गरेका थिए । जसका कारण सहरमा ठूलाठूला होटल, राजमार्ग देखिएका छन् तर प्राचीन अयोध्यामा वर्षौंदेखि रहँदै आएकाहरुको आशा भने केही भिन्न छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ०८:४४

लोकप्रिय