बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३०७ जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरबाट वडा ६ र ७ अन्तर्गतका १९ वटा गाउँका ३०७ जना सर्वसाधारणलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको राप्तीसोनारी–६ का अध्यक्ष लबराज खरेलले जानकारी दिए ।
उनका अनुसार ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न सो शिविरमा ४६ जना पुरुष र १११ जना महिलासहित १५७ जनाले जनरलतर्फ स्वास्थ्य परीक्षण गराए ।
शनिबार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको सो शिविरमा आँखा परीक्षणतर्फ १०१ जना महिला र ४९ जना पुरुष गरी १५० जनाले आँखा परीक्षण गराएर औषधी समेत निःशुल्क प्राप्त गरेका थिए ।
उक्त शिविरमा राप्तीसोनारी गाउँपालिका वडा ६ र ७ को लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, बिशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरी लगायतका बासिन्दाले सेवा लिए ।
नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं वार्षिकोत्सव पारेर आयोजना गरिएको सो शिविर कार्यक्रममा वडाध्यक्ष खरेलले वडा ६ र ७ अन्तर्गतका ग्रामीण समुदायका बिरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै हरेक वर्ष एक पटक शिविर सञ्चालन गर्न आग्रह गरे ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका अध्यक्ष लता शर्माले विद्यार्थीको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट राप्तीसोनारी गाउँपालिका–६ सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारु थारुलाई प्राथमिक उपचारबक्स पनि प्रदान गरे ।
सो बक्समा आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करिब २० थरी आौषधी उपलब्ध छ । शिविरमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरका डा.हर्षित पाठक, डा.आशिष न्यौपाने र नेत्ररोग विशेषज्ञ जीतेन्द्रकुमार वर्मासहित स्टाफ नर्सहरु दिपा थापा र सञ्जु लामाको टोलीले स्वास्थ्य परीक्षण गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका अध्यक्ष तथा सहकारी संस्थाका व्यवस्थापक दिव्या गुरुङले जानकारी दिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके