सूचनाको शक्ति - The Power Of Information

        

छ महिनामै पाँच हजारभन्दा धेरै विद्युतीय गाडी भित्रिए, चीनबाट सबैभन्दा धेरै

नेपालमा विद्युतीय गाडीको आयात तीन गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका पाँच हजार १०० वटा विद्युतीय गाडी आयात भएका छन् ।

यो गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा झन्डै तीन गुणाले धेरै हो । गएको वर्षको ६ महिनामा चार अर्ब ५२ करोड रुपैयाँका एक हजार ७४९ थान विद्युतीय गाडी आयात भएका थिए । सरकारले विद्युतीय गाडी आयात र प्रयोगमा प्रोत्साहन गरेपछि आयात निकै बढेको हो ।

यो वर्ष पुस महिनामा मात्रै एक हजार ४२१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । सबैभन्दा धेरै चीनबाट आयात हुने गरेका छन् । चीनबाट बीवाइडी, एमजी, ग्रेटवाल लगायत ब्रान्डका तीन हजार १२५ वटा विद्युतीय गाडी भित्रिएका छन् ।

यस्तै भारतबाट टाटा, सिट्रोन, हुन्डाई लगायत ब्रान्डका एक हजार ९२२ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ । यस्तै कोरिया, जर्मनी, इन्डोनेसिया, अमेरिका लगायतका देशबाट पनि गाडी आयात भएका छन् ।

गएको आर्थिक वर्षभरि जम्मा चार हजार ५० वटा विद्युतीय गाडीको आयात भएकोमा अहिले ६ महिनामै पाँच हजार १०० वटा गाडी आयात भएका छन् । यसले नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र गतिमा बढेको देखाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतवार १५:४८

लोकप्रिय