रुस–युक्रेन युद्धसँग साइनो नै नभएको नेपालले अकल्पनीय क्षति बेहोरिरहेको छ । औपचारिक रूपमा जानकारी आएअनुसार रुसको तर्फबाट युद्ध लड्न गएका ११ नेपालीको ज्यान गइसकेको छ । रुस–युक्रेन युद्धमा मारिने नेपालीको सङ्ख्या अझै धेरै रहेको बताइन्छ ।
ती विवरणहरू आउन बाँकी छ । रुस–युक्रेन युद्धसँग नेपालको कुनै साइनो छैन । तैपनि यसमा नेपालीहरू व्यक्तिगत रूपमा सहभागी भएर ज्यान गुमाइरहेका छन् । मंसिरयता लगातार नेपालीहरू मारिएका एकपछि अर्को खबर आइरहेका छन् ।
एकपछि अर्को गर्दै मृतकहरूको विवरण सार्वजनिक भइरहेका छन् । परिस्थिति हेर्दा मृत्यूको शृङ्खला यत्तिमै रोकिने देखिँदैन । रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेका शव आएका छैनन् । परिवारले कुशको शव बनाएर काजकिरिया गरिरहेका छन् ।
अझै सयौँ जना नेपालीहरू अझ युद्धमा छन् । तर, ‘रेड जोन’मा खटिएका नेपालीहरूको ज्यान जाने क्रमलाई रोक्न न नेपाल सरकारले परिणाममुखी पहल गरेको न त रुसी सरकार नै इमानदार बनेको छ ।
लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको पनि मृत्युको खबर केही दिनअघि सार्वजनिक भयो । आठ वर्ष पहिले मलेसिया गएका साजन ९ महिनामै गाउँ फर्किएर माओवादी पार्टीमा जोडिएका थिए ।
उनी दूधपोखरी गाउँपालिका कमिटीका वाईसीएल अध्यक्षसमेत थिए । झन्डै १० लाख खर्चेर रुस पुगीवरी सेनामा भर्ती भएका उनी एक रुपैयाँ घर नपठाउँदै ज्यान गुमाए । प्युठान नगरपालिका–४ काठेबरका ३० वर्षीय सोनु (सोमेस) दुई महिनाअघि रुस पुगेका थिए ।
रुसी सेनामा भर्ती भएका सोमेसको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको खबर आएको छ । सोनुले २ लाख रुपैयाँ कतार गएको र कतारबाट रुस जान सोमेसले साढे चार लाख रुपैयाँ दलाललाई बुझाएका थिए । रुस पुगेपछि गत मंसिर २२ सम्म परिवारको नियमित सम्पर्कमा रहेका उनको मृत्यु भएको खबर आयो ।
पोखरा रानीपौवाका २६ वर्षीय देवान पनि रुसी सेनामा भर्ती भएर अस्ताए । युक्रेनविरुद्धको युद्धमा मारिए । १२ कक्षा उत्तीर्ण गरेपछि उनले दक्षिण कोरिया जान ईपीएसमा नाम निकालेका थिए । कोरोना महामारीपछि कोरिया लैजाने प्रक्रिया रद्द भएपछि उता लगेका थिए ।
स्याङ्जा वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद अर्याल पनि रुसमै बिलाए । दुबई हुँदै कात्तिक ३ मा रुस पुगेका उनी पाँचौँ दिनमै भर्ती भएका थिए । त्यसपछि उनले फौजी जीवनका फोटो र भिडियो फेसबुकमा पोस्ट गरिरहेका थिए ।
मंसिर १९ पछि परिवारसँगको सम्पर्कबाहिर भएका उनी युद्धमा मारिएको खबर आयो । स्याङ्जा पुतलीबजार नगरपालिका–५ का प्रितम कार्कीले पनि ज्यान गुमाए । नेपाली सेनाबाट अवकाशप्राप्त ४० वर्षीय प्रितम रुसी सेनामा भर्ती भएको खबर परिवारले धेरैपछि मात्र पाएका थिए ।
कात्तिक २९ गते भाइटिकाका दिन परिवारसँग म्यासेन्जरमा कुरा भएको उनको निधन भएको खबर १० मंसिरमा परिवारले थाहा पाए । दोलखाको मेलुङ गाउँपालिका–६ सुनुवारपानी टोलका राजकुमार कार्की पनि स्वदेश फर्किन पाएनन्, रुसमै निधन भयो । गत असोजमा उनी रुसी सेनामा भर्ती भएका थिए ।
उनले रुसी सेनामा भर्ती भएको डेढ महिना पनि नपुग्दै ज्यान गुमाए । यो खबर मंसिर १२ मा उनको घरमा परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पठाएको छ । उनी २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ती भएका थिए । पछि छाडेर विदेश गएका हुन् ।
गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित लाङदीका थपलियाको पनि शब आएन । अध्ययनको सिलसिलामा रुस पुगेका ३० वर्षीय सन्दीप रुसी सेनामा भर्ती भएका थिए । सन्दीपको मृत्यु असारको अन्तिम साता भए पनि परराष्ट्र मन्त्रालयले कात्तिकमा मात्रै उनको मृत्युको खबर पुष्टि गरेको थियो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–१ मन्द्रेलीटोलका २४ वर्षीय रूपक कार्की पनि रुसमा मारिनेकै सूचीमा छन् । २०७९ जेठ २५ मा पढ्नका लागि रुस उडेका २४ वर्षीय रूपक गत जेठको पहिलो साता रुसी सेनामा भर्ती भएका थिए । भर्ना भएको डेढ महिना पनि नपुग्दै असार १५ मा उनी मारिए ।
टीकापुरको दौलतपुरका ३६ वर्षीय भरत शाहले पनि उतै ज्यान गुमाए । तीन महिनाअघि भरत रुसी सेनामा भर्ती भएका थिए । दुबईस्थित सेक्युरिटी गार्डको काम छाडेर उनी रुस पुगेका थिए । रुसी सेनामा भर्ती भएर मंसिर १० मा युक्रेनविरुद्ध लडिरहेका थिए । त्यही उनी मारिए । उनले सात वर्ष नेपाल प्रहरीमा काम गरेका थिए ।
इलाम नगरपालिका–९ का गङ्गाराज मोक्तान पनि प्रहरीको जागिरे थिए । २०६७ देखि २०७२ सालसम्म नेपाली सेनामा जागिर खाएका थिए । उनी २०७६ सालमा वैदेशिक रोजगारीका लागि दुबई पुगे । दुबईबाट रुस पुगेर सेनामा भर्ती भए । युक्रेनविरुद्धको लडाइँमा कात्तिक २९ मा उनको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–७ प्रेम बस्तीका का राजकुमार गिरी दुबई गए । राजकुमारले त्यहींबाट एजेन्टलाई ८ लाख रुपैयाँ बुझाएर रुस पुगे । भदौ १६ मा रुसी पुगेर सेनामा भर्ती भएका उनी २ महिनापछि मारिए ।
युक्रेनी सेनाविरुद्ध लड्दालड्दै बन्धक भएका चार नेपालीको अवस्था अझै अज्ञात छ । बन्धक हुनेहरूमा राजापुर गाउँपालिका–१ बर्दियाका विवेक खत्री, मण्डन देवपुर–६, काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ नगरपालिका–२ मोरङका विकास राई र रुन्टीगढी गाउँपालिका–८ रोल्पाका प्रतीक पुन छन् ।
अझै पनि मानव तस्करको पछिपछि महिनौँसम्म धाएर नेपाली युवाहरू रुस र युक्रेनसम्म पुगिरहेका छन् । नेपालले रुस भ्रमण गर्न तत्कालका लागि रोक लगाएको छ । रुसी सेनामा भर्ना हुन खोज्नेहरू भारत तथा दुबईबाट पुग्ने गरेका छन् ।
सरकारले पर्यटन भिसामा रुस जान रोक लगाए पनि नेपालबाट दुबई तथा भारत हुँदै जानेहरू धेरै छन् । पर्यटक भिसामा दुबई छिर्ने र त्यहाँबाट रुस र युक्रेन छिर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्री बताउँछन् ।
उनी भन्छन्, ‘सङ्गठित मानव तस्करका एजेन्ट र उनीहरूका सहयोगीहरू देशैभरि छ्यापछ्याप्ती छन् । गरिबी, अभाव र संकटसँग जुधेर बसिरहेका बेरोजगार युवालाई सेक्युरिटी गार्डमा लैजाने भनेर वा विभिन्न बहानामा रुस र युक्रेन पुर्याइरहेका छन् । मानव तस्करमाथि हामीले निगरानी बढाइरहेका छौँ ।’
कतिपय युवाहरू भने सेनामै भर्ना हुने भन्दै मानव तस्करको पछि लागिरहेका छन् । युद्धमा कथं बाँचियो भने रुसी नागरिकता हात पर्ने र मरियो भने परिवारले केही करोड रुपैयाँ पाउने कुराले पनि कतिपयलाई लोभ्याइरहेको बताइन्छ ।
रुसी सेनामा भर्ना भएकाहरू भने जीवन रक्षाको याचना गरिरहेका छन् । उनीहरू अझै ठुलो सङ्ख्यामा छन् । भर्ना हुनका लागि एक वर्ष, दुई वर्ष लगायतको करारको सम्झौता हुने गर्छ । नेपालीहरू सोहीअनुसार भर्ना भइरहेका छन् ।
तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन पाइँदैन । बीचमै फर्किए वा भागेमा रुसी सेनाले कारबाही गर्नेछ। यसैले सेनामा गएकाहरू करार अवधि नसकिएसम्म फर्कन पाउँदैनन् ।
युद्धमा घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरू आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गरिरहेका छन् । उनीहरू सेनाबाट बाहिर निस्कन चाहेका छन् । तर सेनाको संहिता अनुसार उनीहरू बाहिर निस्कन पाएका छैनन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं