सूचनाको शक्ति - The Power Of Information

        

‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई फर्काउने प्रयास भइरहेको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस युक्रेन युद्धमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् । आइतबार युगाण्डाबाट स्वदेश फर्कँनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसकेको बताएका हुन् ।

युगाण्डामा रुसी उपविदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको उनले बताए । ‘हाम्रो देशको सम्झौता भएका भारत र बेलायतबाहेक अन्य कुनै ठाउँमा पनि नेपाली सेनालाई भर्ना गरिँदैन भन्ने कुरा छ,’ प्रधानमन्त्रीले भने ।

उनले जागिर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘जहाँ पायो त्यही जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने । अझ बाटो छलेर जाने यो तरिका भएन ।’

अहिले रुस र युक्रेनसँग कुरा भइरहेको भए पनि उनीहरूले कति प्रेसरमा नेपालको कुरा सुन्छन् भन्ने कुरा महत्वपूर्ण भएको उनले बताए । सरकारले मात्रै गरेर नहुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि हामी सबैले आफ्नो तर्फबाट गर्नुपर्छ । सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन । हामी सबैको साझा र लगातारको प्रयासले परिणाम निकाल्नुपर्छ ।’

उनले ताइवान चीनको अंग भएको विषयमा नेपाल सरकार प्रष्ट रहेको पनि बताएका छन् । एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेकाले ताइवान चीनभन्दा अलग हो भन्न नहुने उनको भनाइ छ । ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । ताइवान पनि चीनकै अंग हो भन्ने हाम्रो नीति सुरुबाट नै हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतवार ११:५४

लोकप्रिय