सूचनाको शक्ति - The Power Of Information

        

इरानद्वारा सिरीयामा गरिएको हवाई हमलाको निन्दा

 इरानले सिरियामा हालै भएको हवाई हमलाको निन्दा गरेको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले सिरियाको दमास्कसमा शनिबार भएको हवाई आक्रमणको जिम्मेवार इजरायल भएको भन्दै इजरायलले सिरियाली सेनालाई पनि निशाना बनाएको आरोप लगाउनु भएको छ ।

इजरायलले वषौंदेखि सिरयामा इरानसँग समन्धित क्षेत्रहरुलाई लक्षित गरी आक्रमण गर्ने गरेको भन्दै राष्ट्रपति रायसीले उक्त हमलामा मारिएका व्यक्तिहरुलाई शहीदको दर्जा दिँदैै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ । साथै उहाँले यो हमलाको बदला लिने चेतावनी समेत दिनुभयो ।

हवाई हमलालगत्तै इरानले वक्तव्य जारी गर्दै हमलालाई आतंकवादीको संज्ञा दिएको थियो । इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा इजरायलको आक्रमण उत्तेजक र आक्रामक भन्दै ज्यादती रोक्न सचेत गराएको थियो ।

इजरायल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार सिरियाको दमास्कसमा इजरायलले गरेको हवाई आक्रमणमा परी ५ जनाको मृत्यु भएको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निशाना बनाउँदा पाँच जनाको मृत्यु भएको हो । इजारायलले गरेको आक्रमण इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर र इरान समर्थक प्यालेस्टाइनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र भएको इरानको दाबी छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतवार ०७:५८

लोकप्रिय