बाँकेमा पछिल्ला केही दिनदेखि शीतलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ । चिसोबाट स्थानीयलाई जोगाउन विभिन्न स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुले दाउराको माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयअन्तर्गतको जिल्ला वन पैदावार आपूर्ति समिति बाँकेले विभिन्न स्थानीय तह (पालिका), वडा कार्यालयहरू तथा संघसंस्थाहरुले दाउराको माग गरेपनि हाललाई स्थानीय तह (पालिका) लाई प्राथमिकतामा राखेर केही स्थानीय तहहरूलाई सहुलियत दरमा दाउरा उपलब्ध गराइएको जनाएको छ ।
चिसो बढेपछि हालसम्म २१ चट्टा दाउरा उपलब्ध गराइएको आपूर्ति समितिले जनाएको छ । समितिका अनुसार हालसम्म नेपालगन्ज उपमहानगरपालिकालाई १२ चट्टा, कोहलपुर नगरपालिकालाई ३ चट्टा, जानकी गाउँपालिकालाई २ चट्टा, कारागार कार्यालयलाई २ चट्टा र बागेश्वरी मन्दिरलाई २ चट्टा दाउरा सरकारी दररेट (सहुलियत)मा उपलब्ध गराइएको छ ।
सहुलियत दररेटमा उपलब्ध भएका दाउराहरू स्थानीय पालिकाले भिडभाड तथा बढी आवतजावत हुने सार्वजनिक स्थानहरूमा सामूहिक रूपले आगो ताप्नका लागि व्यवस्थापन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्राप्त भएका दाउराहरूलाई स्थानीय तहहरूले विभिन्न चोकहरूमा (सार्वजनिक स्थान) सामूहिक आगो ताप्ने व्यवस्था गर्नुका साथै केही सीमान्त बस्तीहरूमा समेत स्थानीय सर्वसाधारणलाई शीतलहर र चिसोबाट जोगाउन ब्ल्याङ्केटसमेत उपलब्ध गराइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
बाँकेमा शीतलहरका कारण बढेको चिसोबाट ज्येष्ठ नागरिक तथा बालबालिकाहरूमा बढी असर परेको प्रजिअ पोखरेलले बताउनुभयो । शीतलहरको बढ्दो प्रभावबाट बच्नका लागि आफूलाई न्यानो बनाउनु नै उत्तम रहेको भन्दै उहाँले नागरिकलाई चिसोबाट बचाउन स्थानीय तह बढी जिम्मेवारी भएर लाग्नुपर्ने बताउनुभयो ।
‘‘केही स्थानीय तहहरूले दाउराको प्रबन्ध गरेर आफ्ना नागरिकलाई सामूहिक रूपमा आगो ताप्ने व्यवस्था गरेका छन् । यो सबै पालिकाले गर्नु जरुरी छ ।,” प्रजिअ पोखरेलले भन्नुभयो, “वन कार्यालयमार्फत सहुलियत दरमा दाउरा उपलब्ध हुने प्रबन्ध मिलाइएको छ, बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका स्थानीय तहहरूले निकुञ्जमार्फत निःशुल्क दाउरा उपलब्ध हुने व्यवस्था समेत मिलाइएको छ ।
त्यहाँका स्थानीय तहले निकुञ्जबाट निःशुल्क दाउरा प्राप्त गर्नेछन् ।” शीतलहर र चिसोबाट सर्वसाधारण नागरिकलाई जोगाउने कार्यमा सबै मिलेर लाग्नुपर्ने प्रजिअ पोखरेलको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके