सूचनाको शक्ति - The Power Of Information

        

सडक कोतरिँदा मासिए सम्पदा

बागलुङको बांगेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ । सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन् । बागलुङ नगरपालिका–१ रामरेखाको बांगेचौर नजिकै रहेकोे १५० वर्ष पुरानो चौतारीसँगैको वरपीपल यसै साता सडक विस्तारका क्रममा ढलाइएको छ । उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो ।

१५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपीपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गरे । उनले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको गुनासो गरे । अहिले रामरेखामा मात्रै नभई नयाँ सडक खन्ने र विस्तार गर्ने नाममा पुर्खाको सम्पत्तिका रुपमा रहेका चौतारी र वरपीपल मासिने अवस्थामा पुगेको आचार्यको भनाइ थियो ।

‘राजमार्गमा परको चौतारी जोगाउन सकिएन, पुर्खाको सम्पत्ति मासियो, हाम्रो मात्रै होइन धेरै स्थानका चौतारी मासिएका छन्, वरपीपल ढलेका देखिन्छन्, वातावरणलाई समेत यसले नकरात्मक असर पारिरहेको छ,’ उनले भए । आचार्यले स्थानीय सरकारले वरपिपल र चौतारी संरक्षण अभियान ल्याउनुपर्ने बताए ।

‘अहिले गाउँ–गाउँका सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरी मासेर यातयातका साधन पार्किङ गर्ने स्थान बनाइएको छ’, आचार्यले भने, ‘ग्रामीण क्षेत्रमा सडक पु¥याउने नाममा चौतारी र पोखरी मासिन थालेपछि वातावरणलाई समेत नकरात्मक असर परेको छ ।’ ठूला वरपीपलका रुख र चौतारीसँगै रहेका पोखरी मासिँदा अहिले पानीका मूल सुक्दै जानुका साथै गर्मीसमेत बढ्दै गएको उनको भनाइ थियो ।

आचार्यले सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरीमा डोजर चलाइएको बताउँदै २०५० को तुलनामा जिल्लामा सडक सञ्जाल विस्तार भए पनि पुराना सम्पदा बोकेका वरपीपल मासिने क्रम बढेको दाबी गरे । गत वर्ष बागलुङ नगरपालिका–३ सिम्लेमा बागलुङ बजारदेखि सिगाना पुर्याउने सडक विस्तारका क्रममा ठूलो पीपलको रुख ढलाइएको थियो । अहिले चौतारी र ठूलाठूला वरपिपलका रुख देख्नै मुस्किल भएको स्थानीय बताउँछन् ।

स्थानीय चूडामणि पुन मगरले बागलुङ बजारभित्र रहेका कयौँ चौतारा र पोखरी मासिएको मात्र नभई सार्वजनिक जग्गा मिचेर व्यक्तिका घर ठडिरहेको गुनासो गरे । ‘अहिले गाउँ–गाउँका वरपीपल त सडक विस्तारका क्रममा मासिएका छन् । वातावरणीय प्रभावलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका वरपीपलका रुख क्रमशः हराउँदै गएका छन्,’ उनले भने ।

पुन मगरका अनुसार सडक विस्तारका नाममा वरपिपल भएका स्थानमा सवारी गुडेका छन् । उनले भने, ‘सर्वजनिक स्थान रहेका रुख सडक विस्तारका क्रममा मासिएका छन्, कतिपयले सार्वजनिक जग्गालाई निजीकरणसमेत गरेका छन् ।’ यहाँका स्थानीय तह तथा वडा कार्यालयले आफ्नो क्षेत्रमा भएको सार्वजनिक जग्गा, चौतारी, पोखरी र वरपीपलजस्ता सम्पदाको तथ्यांक संकलन नगरेको मगरले गुनासो गरे ।

पुर्खाको पौरख र पसिना जोडिएका विषयलाई संरक्षण नगरेर मास्ने कामलाई कदापि स्वीकार गर्न नसकिने वातावरण तथा फोटो पत्रकार आरके अदीप्त गिरीले बताए । ‘सहर र गाउँलाई सुन्दर बनाउने भन्दै मौलिकता र संस्कृति मास्नुहुँदैन । बिसौनीका रुपमा रहेका चौतारी र छाहरी मास्नु भनेको प्रकृतिमाथि अत्याचार हो,’ उनले भने, ‘पुराना सम्पदा र सभ्यताका सूचक चौतारी र वरपीपलको संरक्षण गर्नु सबैको कर्तव्य हो ।’

पुराना सम्पदा मासेर गन्तव्यमा पुग्न नसकिने भन्दै विकासका नाममा मौलिकता बिर्सिन नहुनेमा गिरीले जोड दिए । सडक निर्माण र विस्तारका क्रममा चौतारी र वरपिपल जोगाउन स्थानीयले खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो । गिरीले वातावरण खलबल्याउने विकासले मानवीय सभ्यता नै जोखिममा पारेको बताउँदै सभ्यता, सम्पदा र प्रकृतिलाई जोगाएर मात्रै विकास गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार १०:५१

लोकप्रिय