रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उनकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन् । ५२ वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आवद्ध छन् । अहिले पनि उनको कृषि पेसा प्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दाकम छैन् । खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन् ।
सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताए । ‘बगैँचा नजिकै एउटा सानो बस्न मिल्ने घर छ । जाडोको समय यहाँ रातभर बस्न सकिँदैन, त्यसैले ११–१२ बजेतिर आएर कसैले सुन्तला चोरी गरेका छन्, छैनन् हेरेर जान्छु । अहिले सिजन भएकाले बारीको रेखदेख गर्नुपर्छ,’ उनले भने । चन्द्रबहादुरको बारीमा तरकारीका साथै विभिन्न प्रकारका फलफुल खेती हुने गरेको छ ।
उनको बारीमा प्रवेश गर्नेलाई वरपरको वातावरण अवलोकन गर्दा आनन्द महसुस हुने स्थानीय बताउँछन् । बारीमा सुन्तला बगैँचाका साथै अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्दागोभी फूलगोभी, खुर्सानी तथा विभिन्न घाँस र फलफुलका नर्सरी राखेर बिक्री गर्ने गरिएको उनले बताए । खड्का दम्पती विगत १५ वर्षदेखि कृषि पेसामा आवद्ध छन् । पहिले सानो छँदा चन्द्रबहादुरका बाबाले थोरै जग्गामा सुन्तला लगाएका थिए ।
‘बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर व्यावसायिक रुपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो,’ चन्द्रबहादुरले भने, ‘मेरो काममा श्रीमतीले सधैँ साथ छ । काम विशेषले घरबाहिर घुम्न जान्नुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गर्छिन् ।’ खड्का दम्पतीको सात जनाको परिवारमा दुई छोरीको विवाह भइसकेको छ । एक छोरी र एक छोरा पढाइको सिलसिलामा जिल्ला बाहिर बस्छन् भने एक छोराले रोजगारी गर्छन् । कृषि पेसामा निकै खुसी मिलेको चन्द्रबहादुरको भनाइ थियो ।
‘कान्छो छोराले अमेरिका जान्छु भनिरहन्छ । म नेपालमै बसेर स्वरोजगार बन्न सकिन्छ भनेर नपठाउने योजनामा छु । म दुवै छोरालाई विदेश पठाउँदैन् । स्वदेशमै दुःख गरेर कमाउन सकिन्छ । उनीहरुलाई पनि व्यावसायिक कृषि पेसामा आवद्ध गराउने हो,’ उनले भने । खड्काकी श्रीमती लालकुमारीले पनि छोराहरुले अर्काको देशमा दुःख पाउनु भन्दा आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर भएको सुनाइन् ।
२०६२ देखि व्यावसायिक सुन्तला खेती गरेका खड्काको बारीमा अहिले ३ हजार ६०० सुन्तलाका बोट छन् । जसमध्ये करिब ५०० बोटले फल दिन सुरु गरिसकेका छन् । अन्य साना बोटले पनि दुई वर्षभित्र फल दिन सुरु गर्ने चन्द्रबहादुरले बताए । गतवर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यस वर्ष राम्रो फल लागेकाले ५० क्विन्टल बिक्री गर्ने योजना रहेको उनको भनाइ थियो । गतवर्ष सुन्तला बिक्रीबाट तीन लाख ७५ हजार कमाइ भएको जनाउँदै चन्द्रबहादुरले यस वर्ष दोब्बर आम्दानी हुने आशा गरिएको बताए ।
बारीबाटै ४५ देखि ५० सम्म प्रतिकिलो बिक्री हुने गरेको उनले बताए । उनका अनुसार सुन्तला खरिद गर्न दाङ, सल्यान लगायत स्थानबाट व्यापारी आउने गरेका छन् । चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुर लगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गरिरहेका छन् । गत वर्ष अलैँची चार क्विन्टल भन्दा बढी अर्थात् ४०० सात किलो बिक्री गरेर पाँच लाख आम्दानी गरेको सुनाए । अलैँची पनि गाउँबाटै प्रतिकिलो एक हजार ३०० मा बिक्री हुने गरेको उनको भनाइ थियो ।
हिउँदे तरकारीबाट तीन लाख र फूलफूलका (कागती, सुन्तला, अमिलो, डाले घाँस) नर्सरी बिक्रीबाट १७ लाख, खसीबोका बिक्रीबाट वार्षिक तीन लाख ५० हजार आम्दानी हुने गरेको चन्द्रबहादुरले जानकारी दिए । उनका अनुसार वार्षिक ३५ देखि ४० लाखसम्म आम्दानी हुने गरेको छ । चन्द्रबहादुरले ६२ रोपनीमा सुन्तला खेती विस्तार गरेका छन् । बाँकी रहेको पाखो पारीमा पनि थप खेती विस्तार गर्ने योजना रहेको उनले बताए ।
आफूले व्यावसायिक रुपमा कृषि पेसा गरे पनि वास्तविक कृषि पेसामा आवद्ध किसानले अनुदानका कार्यक्रम नपाउने गरेकामा उनले दुखेसो पोखे । अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र समेट्ने गरिएको चन्द्रबहादुरको गुनासो थियो । धेरै मेहनतपछि कृषि विकास कार्यालय रुकुमपश्चिमबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाइ पोखरी र बाख्रापालनको लागि भकारो सुधार कार्यक्रमअन्तर्गत अनुदानमा पाएको उनले जानकारी दिए ।
परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिक रुपमा रोजगारी दिएका छन् । मासिक १२ हजारका दरले एक जना कामदारले काम गरिरहेको उनले बताए । कामको चाप बढेकाले थप कामदार राख्ने योजना बनाइएको उनको भनाइ थियो । ‘वार्षिक एकजना कामदार लगाए पनि सुन्तला टिप्ने सिजनमा भने एक हप्तासम्म १० जना भन्दा धेरै कामदार लाग्ने गरेका छन्,’ चन्द्रबहादुरले भने ।
अलैंची खन्ने सिजनमा पनि थप कामदार लगाउने गरेको उनले बताए । ग्रामीण सडक व्यवस्थित नहुँदा उत्पादन भएका तरकारी तथा फलफूल सडकसम्म पुर्याउन समस्या हुने गरेको उनको भनाइ थियो । सोही ठाउँका किसान टेकबहादुर खड्काले पनि सुन्तला र अलैँची मनग्य उत्पादन हुने गरेको बताए । गत वर्ष २५ क्विन्टल सुन्तला र २४० किलो अलैँची बिक्री गरेर पाँच लाख आम्दानी गरेको उनले बताए ।
किसानले उत्पादन तथा बिक्री गर्ने कृषिजन्यवस्तुको वडा कार्यालयले कुनै तथ्याङ्क राखेको छैन । वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिकरुपमा खेती गर्ने गरे पनि कार्यालयले यकिन तथ्याङ्क नराख्दा कति रकम भित्रियो भन्ने विवरण नभएको हो । वडाका धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरेपनि यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाँठाले बताए ।
‘किसानले उत्पादन गरेको कृषिजन्यवस्तु आफैँ बिक्री गर्ने गरेका छन् । कति उत्पादन हुन्छ ? कति बिक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन्,’ वडा अध्यक्ष बाँठाले भने । उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन तथा अन्य समन्वय लगायत काममा वडाले सहयोग नगरेको उनको भनाइ थियो ।
त्रिवेणी गाउँपालिकाको कृषि शाखा कार्यालयले भने ४ नं वडाका किसानले मात्रै गतवर्ष एक करोड २० लाखको सुन्तला बिक्री गरेका जनाएको छ । शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्लता खेती गर्ने ५० घरधुरी छन् । प्रत्येक किसानले पाँच रोपनी भन्दा बढी जग्गामा खेती गर्ने गरेका छन् । पाँच रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको पुनले जानकारी दिए ।
उनका अनुसार वडामा चार सय रोपनी अर्थात २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गतवर्ष वडामा दुई हजार चार सय क्विन्टल सुन्तला उत्पादन भएको थियो । यसवर्ष सुन्तलाले फल राम्रो दिएकाले गतवर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको पुनको भनाइ थियो । गाउँबाटै प्रतिकिलो ५० का दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेका भन्दै किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुकुम पश्चिम