समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन् । बितेका वर्षमा मङ्सिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष माघ लागिसक्दा समेत हिउँ पर्ने छाँटकाँट नरहेको स्थानीय सन्तोष मगरले बताए ।
गतवर्ष पनि ढिला गरी हिमपात भएको थियो भने यसवर्ष पनि माघ लाग्दासमेत हिउँ पर्न नसकेकोमा उनको चिन्ता छ । मगरले भने, ‘हिउँ नपर्दा हिमाल कालो हुन थालेको छ भने बालीनाली पनि सुक्न थालेका छन् । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे ।’ सदरमुकाम सल्लेरीबाट आँखैअघि देखिने नुम्बुर हिमाल यसवर्ष खासै चहकिलो देखिएको छैन ।
सधैँजसो हिउँले पूरै भरिने नुम्बुर हिमालमा अहिले पहाडका कालो भाग देखिन थालेको सल्लेरीका एक वृद्ध जाङ्बु शेर्पाले बताए । उनले भने, ‘हिउँ नपर्दा हिमाल हिमालजस्तो रहेन, डाँडाकाँडा पूरै सुक्खा हुँदै गएर विरक्त लाग्दा देखिएको छ, खै के भएर यस्तो भएको हो, समय फेरिएर हो कि के भएको हो, अचम्म लाग्दो भएको छ ।’ सामान्यतया चिसो मौसममा हिमपात हुन्छ ।
पुसको सुरुआत नै यहाँका लागि हिमपातको मुख्य याम हो तर यस वर्ष तल्लो क्षेत्र मात्र नभई उच्च हिमाली क्षेत्र खुम्बुमा समेत अहिलेसम्म हिमपात भएको हुन सकेको छैन । हिमपात हुने समयमा हिउँ नपर्दा खुम्बुका स्थानीयले समेत अनौठो मानेका छन् । सर्वाेच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोङ्गदे जस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ ।
‘करिब दुई वर्षअघि पुसको सुरुआतमै दुई फिटसम्म हिमपात भएपछि गाउँदेखि आन्तरिक पर्यटक हिउँमा रमाएका थिए तर गत वर्ष पनि ढिला गरी हिमपात भयो, यस वर्ष पनि माघ लागिसक्दा हिउँ पर्न सकेको छैन,’ शेर्पाले भने । मौसममा हिउँ नपर्नु, पानी नपर्नु जलवायु परिवर्तनको मुख्य असर भएको स्थानीयले समेत महसुस गरेका छन् ।
वातावरणविद् राजन थापाले भने, ‘मानव सिर्जित समस्या प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोप लगायत कारण भइरहेको जलवायु परिवर्तनले मानवजीवनका हरेक क्षेत्रमा नकारात्मक असर पुर्याइरहेको छ ।’
वनजङ्गलको तीव्र फँडानी, हानिकारक ग्यासको उत्सर्जन लगायत कारण जलवायुमा परेको असरले वातावरणमा असर पर्न थालेको वातावरणविद् थापाले बताए । समयमा हिमपात तथा वर्षात नहुँदा हिमाली क्षेत्रमा हरियाली कम देखिन थालेको छ भने हिम नदीले बहने धार समेत परिवर्तन गर्दै गएको खुम्बुका पेम्बा शेर्पाको अनुभव छ ।
समयमा हिमपात तथा वर्षात नहुँदा सोलुखुम्बुका किसान चिन्तित बनेका छन् । हिउँदयाममा परेको हिउँले बाली सप्रने भए पनि माघ लाग्दा हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । गएका वर्षमा मङ्सिर, पुसमै हिमपात हुने गरेकामा यस वर्ष माघ लाग्दा हिउँ परेको छैन । हिउँ नपर्दा बालीनाली पनि सुक्न थालेको गार्माका पृथ्वीबहादुर भुजेलको चिन्ता छ ।
उनले भने, ‘यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा भएका छन् ।’ हिमपात नहुँदा आलु, उवा, गहुँजस्ता बाली बारीमै सुक्न थालेको लिखुपिकेका किसान कामीछिरी शेर्पाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सोलुखुम्बु