सूचनाको शक्ति - The Power Of Information

        

मुसहरको कष्टकर दैनिकी : परालको भरमा कसरी कटाउनु जाडो ?

वर्षभरि बस्तुभाउको खानका लागि जम्मा गरेका आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ । भटौलिया गाउँको उत्तरपट्टी रहेको सय परिवारको मुसहर बस्तीको घरमा बस्तुभाउलाई खुवाउने पराल नै ओढ्ने, पराल नै ओछ्याउने र परालकै आगो तापेर जीउ न्यानो बनाइरहेको दृश्यले त्यहाँका मुसहर समुदायलाई जाडोबाट बचाउने सहारा नै पराल बनेको देखिन्छ ।

चिसो स्याँठले असैह्य भएको जाडोको बीच चारैतिर परालको कुन्यु, परालबाटै बनेको गुन्द्री, पराल नै जुटको बोरामा कोचेर बनाइएको सिरक, डसना र परालकै आगो बालेर भटौलिया गाउँका सम्पूर्ण मुसहरी (मुसहर बस्ती) यतिबेला जाडो छलिरहेको छ । चारैतिर खर परालकै झिक्राझिक्री (टाटी) र खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६५ वर्ष नाघिसकेका जोगिया सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच बसिरहेको देखियो ।

उनको शरीरमा समेत चिसो छल्न सक्ने जति लुगाफाटा थिएन भने भने बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको थिएन, महिला इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक अरु बाक्लो कपडामा भेटिँदैनन् । आर्थिक रुपले चरम गरिबीले छोएको उनको झुपडीमा कुनै घेराबेर छैन । चिसो आकाशमुनि बस्दै आएको जोगियाको ११ जनाको परिवार जाडो बढेसँगै आगोकै वरिपरि लुटपुटिएको हुन्छ । उनकै छिमेकी ५० वर्षीया सुमित्रा देवी सदाको अवस्था पनि उस्तै छ ।

छ–सात जना छोराछोरीसहित उनको परिवार पनि परालको ठुट्टो (लार)ले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँ ठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रोमा बस्दै आएको छ । झुप्रोभित्र चारैतिर पराल ओछ्याएको छ भने राति सुत्नका लागि जुटको ठूलाठूला बोरामा पराल कोचेर ओढ्ने ओछ्याउने विस्तार बनाइएको छ । उनका कुनै छोराछोरीका जीउमा पनि पूरा कपडा छैनन् ।

घरभित्रैबाट चिसोले काप्दै सुमित्राले भनिन्, ‘हजुर हमरा सब लग केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामी कहाँ कोही आउँदैनन् । मरिरहेछौं तर पनि कसैलाई कुनै मतलब छैन) छ वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै यसै झुप्रोमा दिन बिताउन बाध्य उनको परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या छ । उनी भन्छिन्, ‘परिवारमा खानेकुराको अभावले भोकै बस्नुपर्ने अवस्था छ भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनु ?’

वर्षौंदेखि दमरोगको बिरामी रहेकी ६५ वर्षीया अनरिया देवी सदा झुत्रो कम्बल ओढेर काँप्दै थिइन् । आफूलाई पति र छोराछोरीलेसमेत राम्ररी हेरचाह नगरेको भन्दै सहयोगको याचना गर्दै उनले भनिन्, ‘हजुर मलाई कुनै अनाथालयमा लगिदिनुस्, यो चिसोमा भोकभोकै रहनुपर्दा निकै कष्ट भएको छ । परिवारबाट पनि माया पाएको छैन ।’ सोही बस्तीकी ५५ वर्षीया सीतादेवी सदा दुई सातादेखि रातिराति सुत्न पाएकी छैनन् ।

उनले भनिन्, ‘हजुर दिनभरि जसोतसो काटे पनि राति काट्न पराल बालेर आगोकै साहाराले नै काट्दै आएको छु । दुई सातादेखिको चिसो स्याँठबाट बालबालिकालाई बचाउन रातभिर पराल र पात पतिंगरको घुर जलाएर सुत्ने गरेको छु ।’ आगो बालेर सुत्दा जल्ने पोल्ने डरले बालबालिकालाई सुताउँदै आफू रात रातभरि जाग्राम नै बस्ने गरेको उनले बताइन् ।

चरम गरिबीको कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदूरी गरेर कमाएको पैसामध्ये आधी मदिरामा उडाइदिने र आधाले जहान परिवारको लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाहरुको लागि न्यानो लुगाफाटा र पोषिलो खानेकुरा दिन नसकेको उनको दुःखेसो छ । यस वर्षमा मात्रै नभएर आफूहरुले वर्षौंदेखि जाडोयाममा यसैगरी समय काट्ने गरेको स्थानीय ४८ वर्षीया कोशिलादेवी सदाले सुनाइन् ।

दिनमा घाम लागे खुशी हुने र बेलुका घाम ढल्दै जाँदा दुःखी हुँदै रातभरि घुरमा आगो ताप्दै रात बिताउने उनको दिनचर्या बनिसकेको छ । कोशिलाको घरमा उन र उनका पतिसहित आठ जना बालबालिका छन् भने सबै जना जाडो छल्नका लागि परालकै सहारा नै लिनुपरेको छ । शीलतहर, चिसो हावा, बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै अर्काको खेतमा धान बढार्दै गरेकी ७४ वर्षीया भुटीदेवी सदा टाँढैबाट कराउँदै आफ्नो पीडा सुनाउन आइपुगिन् ।

‘खान पाएकी छैन । घरमा अन्नपात छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन । जाडोले ज्यानै लिन लाग्यो । आफू त कसैगरी जाडो सहन सकिरहेको छु । तर यत्रो सानो बच्चालाई कसरी जोगाउनु । घरमा चारैतिरबाट हावा पस्छ । जाडोले मुटु नै हल्लाउँछ । ओढ्ने ओछ्याउने नहुँदा मनै रोएर आउँछ । कसैगरी कतैबाट राहत दिलाइदिनुस् ।’ कहाँ जाउँ, के गरुँ र कसरी बाँचु भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

उनका सात बालबालिकासहित ११ जनाको परिवार दैनिक मजदूरीबाट जसोतसो चल्दै आएको छ । उनले एकदिन पनि मजदूरी नगरेमा चुल्हो बल्दैन भने परिवारका सबै सदस्य भोकभोकै बस्नुपर्ने बताइन् । ‘जाडो याममा कहिले काम पाइन्छ, कहिले पाइँदैन र त्यस्तो अवस्थामा भोकै बस्नुपर्ने बाध्यता छु,’ भुटीले भनिन्, ‘हजुर कोही दाता छन् भने हामीलाई राहत दिलाइदिनुस् न । जाडो हटेपछि त काम पनि पाइन्छ, बालबालिका पनि भुलाउन सजिलो हुन्छ ।’

केही दिनयता तराई–मधेशका जिल्लाहरुमा बाक्लो कुहिरो लाग्ने, घाम नलाग्ने र शीतलहर हुने गरेकाले गरिब तथा विपन्न समुदायका वासिन्दाको जनजीवन निकै कष्टकर बनेको छ । सय परिवार मुसहरको यहाँका जुनसुकै घरमा जानु सबैको उस्तै पीडा देखिन्छ । अभावै अभावमा जीवन काटिरहेका उनीहरुको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ०९:४९

लोकप्रिय