रामको जन्मभूमि अयोध्यामा बनेको राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ माघ ८ गते (जनवरी २२) हुँदैछ । राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने मिति जति नजिकिँदै छ त्यति नै यसबारे बहस तथा विवाद चुलिँदैछ । यो बहस तथा विवादमा ठूला धर्म गुरुदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म जोडिएका छन् ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा सहभागी हुन निम्तो दिएको छ । ट्रस्टले भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा निमन्त्रणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निमन्त्रणा पाएका केहीले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।
केहीलाई भने जानी बुझिकन निमन्त्रणा गर्न छुटाएको छ, जसले भारतका हिन्दुहरुबीच विभाजनको रेखा कोरेको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले जुन गतिमा भारतमा हिन्दुत्वलाई अघि बढाएको थियो त्यसमा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहले ‘ब्रेक’ लगाएको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।
प्राण प्रतिष्ठामा गरिएको निमन्त्रणाले भारतमा भाजपा निकट हिन्दु र अन्य पार्टी निकट हिन्दु भनि कित्ताकाट गर्न सुरू भएको छ । राम मन्दिरको गर्भ गृहको निर्माण कार्य चलिरहेको छ । केही काम पूरा हुन बाँकी नै छ । अहिले चौबीसै घण्टा गर्भ गृहको निर्माण कार्य चलिरहेको छ । यसैकारण भारत भित्र केहीले विरोध पनि गरिरहेका छन् ।
उनीहरुले प्रश्न पनि गरिरहेका छन्, निर्माण कार्य सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गर्न किन हतार ? प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनेछन् । उक्त कार्यक्रममा देश–विदेशबाट थुप्रै अति विशिष्ठ पाहुनालाई निमन्त्रणा गरिएको छ । नयाँ राम मन्दिरको लागि पुजारी चयन गर्ने कार्य पनि जारी छ । पहिलो चरणमा आएका ३०० जनाको नामबाट २१ जना पुजारीलाई ‘सर्ट लिस्ट’ गरिएको थियो ।
उनीहरूलाई तालिम दिने काम अहिले भइरहेको छ । यिनैमध्ये एक जना अयोध्यास्थित राम मन्दिरको मुख्य पुजारी हुनेछन् । श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत राय भन्छन्, ‘तालिम सकिएपछि सनातन धर्म, वेद र शास्त्रमा उनीहरुको ज्ञानको परीक्षा लिने काम हुन्छ । केहीलाई यहीँ जागिर दिइनेछ भने अन्यलाई देशका फरक फरक मन्दिरमा पठाइनेछ ।’
राम मन्दिर कमिटीले वाराणासीका दुई जना पुजारीको नाम यसअघि नै घोषणा गरेको छ जसले प्राण प्रतिष्ठामा अगुवाई गर्नेछन् । ‘अयोध्याका कर्मकाण्डी ब्राह्मण पनि लक्ष्मीकान्त दीक्षित र गणेश्वर शास्त्री द्रविडको नाम सुनेर भन्नेछन् उनीहरु त हाम्रो पनि गुरू हुन् । काशी सधैँ विद्धानहरुको नगरी रहेको छ, जबकि अयोध्या लामो समयदेखि उपेक्षित बनेको छ,’ चम्पत रायले भने ।
काशीका विद्धान गणेश्वर शास्त्री द्रविड र लम्कीकान्त दीक्षितले प्राण प्रतिष्ठा गराउने उनले जनाए । राम मन्दिर कमिटीको यस फैसलाको अयोध्याका केही स्थानीय महन्थ तथा पुजारीले आपत्ति जनाएका छन् । प्राण प्रतिष्ठा गराउने पुजारी हजारौं मन्दिरको सहर अयोध्याबाट छनोट नगरिएकोमा उनीहरुको असन्तुष्टि छ ।
अयोध्याको हनुमान गढीका प्रमुख महन्थ, महन्थ धरमदासका गुरु बाबा अभिराम दासले सन् १९४९ मा रामललाको मूर्ति विवादित ढाँचामा राखेका थिए । ’पूजा गर्न कोही पुजारी आउँदै छन् भने कसरी गराउँछन् त्यो हामी हेर्ने नै छौं । अब यहाँका पुजारीलाई पनि सहभागी गराउनुपर्छ । प्रतिष्ठा सबैले गर्नुपर्छ,’ महन्थ धरमदासले भनेका छन् ।
पहिले नै प्रतिष्ठित मूर्ति राखिने हुँदा धेरै काम गर्नु नपर्ने बुझाई उनको छ । मूर्तिका विषयमा भारतको सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ । सहमति तथा असहमति जे भए पनि प्राण प्रतिष्ठा हुनुपर्ने भनाई उनको छ । जबदेखि राम मन्दिर निर्माणको काम सुरु भएको छ र अस्थायी स्थानमा रामको मूर्ति राखिएको छ, त्यसबेलादेखि त्यहाँ दर्शन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ ।
भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ । त्योमध्ये दुई एकड जमिन मन्दिर निर्माणको लागि छुट्टयाइएको थियो । हजारौं करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको नयाँ राम मन्दिरको गर्भ गृहको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । मन्दिर निर्माणको खर्च औपचारिक रुपमा घोषणा नगरिए पनि हालसम्म १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान छ ।
प्राण प्रतिष्ठा गर्ने मिति घोषणा भएपछि लाखौं श्रद्धालु अयोध्या आइरहेका छन् । उनीहरुले नगद मात्र होइन सुन–चाँदी पनि चढाइरहेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही दिनअघि केन्द्र सरकार र राज्य सरकार मिलेर ३ खर्ब भारतीय रुपैयाँभन्दा बढी रकम अयोध्याको विकास आयोजनामा लगानी भएको घोषणा गरेका थिए । जसका कारण सहरमा ठूलाठूला होटल, राजमार्ग देखिएका छन् तर प्राचीन अयोध्यामा वर्षौंदेखि रहँदै आएकाहरुको आशा भने केही भिन्न छ ।
अयोध्या र राम मन्दिरको प्राण प्रतिष्ठाको सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई लिएर बहस भइरहेको छ । प्रश्न गरिएको छ, के एउटा धर्मनिरपेक्ष देशको प्रधानमन्त्री राम मन्दिरमा हुने प्राण प्रतिष्ठा समारोहमा सहभागी हुनु सही हो ? भारतका विपक्षी पार्टीहरुले प्रधानमन्त्री मोदी प्राण प्रतिष्ठामा भाग लिन खोज्नुलाई आगामी आम निर्वाचनसँग जोडेर पनि हेर्न थालेका छन् ।
समाजवादी पार्टीका उत्तर प्रदेश महासचिव तथा पूर्व राज्यमन्त्री जयशंकर पांडे भन्छन्, ‘सत्ताधारी भारतीय जनता पार्टी रामको नाममा भोटको राजनीति गरिरहेको छ ।’ आज नभए पनि भोलि सबै जनताले वास्तविकता बुझ्ने भनाई पांडेको छ । सनातन धर्म र मर्यादा पुरुषोत्तम राम सबैको भएको उनको बुझाई छ ।
उनी भन्छन्, ‘महात्मा गान्धीले रामराज्यको कल्पना गरेका थिए । तर समाजमा भारतीय जनता पार्टीले यो देखाउन खोज्दै छ कि राम मन्दिरको निर्माण उसैले मात्र गरिरहेको छ । जबकी लाखौं हिन्दुले कुनै राजनीतिबाट प्रभावित नभई नयाँ मन्दिर निर्माण गर्न चन्दा दिएका थिए ।’ यसअघि पनि धर्मलाई लिएर भारतमा राजनीतिज्ञ विभाजित भएका थिए ।
सन् १९४७ मा बेलायतबाट भारत स्वतन्त्र भए लगत्तै तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरु र राष्ट्रपति राजेन्द्र प्रसादले यस्तै घटनामा अलग अलग विचार व्यक्त गरेका थिए । सरदार पटेलको अगुवाईमा गुजरातमा सोमनाथ मन्दिरको पुनर्निर्माण भएको थियो । पुनर्निर्माण पुरा भएपछि पटेलको मृत्यु भयो ।
पुनर्निर्माण भएको मन्दिरको उद्घाटन गर्न राष्ट्रपति राजेन्द्र प्रसादलाई बोलाइयो । नेहरूले राजेन्द्र प्रसादलाई धर्मनिरपेक्ष राष्ट्रको राष्ट्रपति मन्दिरको कार्यक्रममा जान नहुने सुझाव दिए । तर राष्ट्रपति राजेन्द्र प्रसाद प्रधानमन्त्री नेहरुको सुझावको बेवास्ता गर्दै मन्दिरको कार्यक्रममा उपस्थित भएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं