सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प : २६ हजार लाभग्राहीलाई पहिलो किस्ता

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका ६ वटा पालिकाका २६ हजार ५७३ लाभग्राहीले अस्थायी आवास निर्णाणका लागि पहिलो किस्ताबापत रु २५ हजारका प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारीले प्रवेश बढुवालले सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार ७३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा ८५८ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको बताए ।

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार ४३२, त्रिवेणी गाउँपालिकामा दुई हजार ७७२, चौरजहारी नगरपालिकामा छ हजार १६५ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार ६९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

उनका अनुसार छ वटै स्थानीय तहका लाभग्राहीले हालसम्म रु २५ हजारका दरले रु ६६ करोड ४३ लाख २५ हजार प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषले २९ हजार ४०६ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७३ करोड ५१ लाख ५० हजार पठाएको छ ।

लाभग्राही पहिचान भएका दुई हजार ८३३ जनाले अस्थायी आवासको पहिलो किस्ता पाउन अझै बाँकी छ । जिल्लामा हालसम्म १६ हजार ३४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार ४९७ अस्थायी आवास निर्माणाधीन रहेको बढुवालले जानकारी दिए । लाभग्राहीको सङ्ख्या आउने क्रम जारी रहेकाले यो सङ्ख्या ३० हजार ५०० पुग्नसक्ने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुमान गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ०८:२९

लोकप्रिय