सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा आइतबारदेखि छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड हुँदै

बाँकेको खजुरामा आइतबारदेखि पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।

खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

माघ ७ देखि १० गतेसम्म चल्ने प्रतियोगिताको खेलहरु शुक्र भलिबल स्टेडियममा हुनेछन् । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले बताए ।

पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मावि तह (कक्षा ९–१२) मा १५ खेल, आधारभूत तह (कक्षा ६–८) मा ५ खेल र आधारभूत तह (कक्षा १–५) मा ३ खेल समावेश गरिएको विष्टले जानकारी दिए ।

मावि तहमा भलिबल, कबड्डी, चेस र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ ।  एथलेटिक्सको ट्रयाक अन्तर्गत १०० सय मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र ३००० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौड समावेश गरिएको छ । फिल्डतर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपट खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

आधारभूत तह (कक्षा ५–६) मा एथलेक्सको १०० मिटर, ४ गुणा १०० मिटर र ८०० मिटर दौड, फिल्डमा लङजम्प र सटपट खेल समावेश गरिएको छ । आधारभूत तह (कक्षा १–५) सम्म ४ गुणा ५० मिटर रिले, १०० मिटर दौड, लङजम्पमा प्रतिष्पर्धा हुने आयोजकले बताएको छ । यसैगरी चेस प्रतियोगितामा खजुरा गाउँपालिकाभित्र रहेका विद्यालयहरुबाट एक–एक जना छात्र–छात्राहरुको सहभागिता रहनेछ ।

खजुरा गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिता पहिलोपटक शुक्र भलिबल स्टेडियममा हुन लागेको हो । यसअघि व्यवस्थापन गर्ने विद्यालयमा प्रतियोगिता आयोजना हुँदै आएको थियो । यस पटक प्रतियोगितामा पालिकाभित्र रहेका निजी तथा संस्थागत गरी करिब ७० विद्यालयहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १८:४९

लोकप्रिय