२०८२ कात्तिक २२ , शनिबार 8, November 2025, Saturday

बाँकेमा जाडो बिदा

सत्यपाटी
सत्यपाटी । बाँके
२०८० माघ ५ गते शुक्रबार

अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि बाँकेका चार वटा पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका छन् ।

चिसोले बालबालिकाहरूलाई विद्यालय आउन जान समस्या हुन थालेपछि ती पालिकाहरूले जाडो बिदा गरिएको जनाएका छन् ।

जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाले सूचना प्रकाशित गरेर विद्यालयमा जाडो बिदा दिएका हुन् ।

चिसोले बालबालिकाहरू रुघाखोकी र ज्वरोले पीडित हुन थालेको जानकारी आएकोले तीन दिनका लागि विद्यालय बन्द गरिएको नेपालगन्ज उपमहानगर शिक्षा शाखाका प्रमुख गोर्ख थापाले बताउनुभयो । उहाँले चिसोले बालबालिकालाई समस्या परेकोले तीन दिन विद्यालय बन्द रहने जनाउँदै त्यसपछि पनि चिसो कम नभए पुनर्विचार गरिने बताउनुभयो ।

सोही प्रकारले जानकी, राप्तीसोनारी र डुडुवा गाउँपालिकाले पनि सार्वजनिक सूचना जारी गर्दै मौसम प्रतिकूलताका कारण तीन दिन विद्यालयमा जाडो बिदा दिइएको जनाएका छन् ।

‘अत्यधिक जाडोका कारण विद्यालयमा अध्ययन र अध्यापन गर्न गराउन कठिनाइ भएकाले आइतवारसम्म पठनपाठन स्थगित गराउन विद्यालयलाई आग्रह गरिन्छ’ राप्तीसोनारी र डुडुवा गाउँपालिकाको सूचनामा भनिएको छ ।

यसैगरी जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जाडोले बालबालिकालाई विद्यालय आउन जान समस्या भएको र स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएकोले जाडो बिदा दिइएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार