सूचनाको शक्ति - The Power Of Information

        

एसइई परीक्षा चैत पहिलो हप्ता, सबै विषयमा ३५ ल्याए पास

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए ।

उनले भने, ‘यो वर्षको एसइई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ ।’ संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसइई सम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह पनि गरेका छन् ।

उनले भने, ‘शिक्षा विधेयकमा १० कक्षाको परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ, एसइई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसइई हुन्छ ।’ अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले एसइई प्रभावित नहुने बताएका छन् ।

उनले भने, ‘जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुमा परीक्षा सञ्चालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रधानाध्यापकसँग भेट्यौं । पढाइ भइरहेको र सञ्चालनको लागि केन्द्र सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्न सकिन्छ ।’ जाजरकोट र रुकुम पश्चिमममा नजिकैको अर्को विद्यालयमा केन्द्र सञ्चालनमा कठिनाई नरहेको शर्माले बताए ।

अध्यक्ष शर्माले परीक्षा एउटै मितिमा हुने पनि जानकारी दिए । भूकम्पका बेला विद्यार्थीको किताब हराएको भए पनि पुस्तक पठाइसकेको उनले बताएका छन् । यस वर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उनले भने । अहिलेसम्म एसइईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ११:१३

लोकप्रिय