सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरका ९५ स्थानमा सामूहिक आगो ताप्ने व्यवस्था

बाँकेको कोहलपुर नगरपालिकाले चिसोबाट बच्न १५ वटै वडाका ९५ स्थानमा दाउरा वितरण गरेर सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । नगरपालिकाभित्रका सबै वडाका मुख्य चोकमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले अत्यधिक चिसोले नागरिकलाई समस्या परेको हुँदा सबै वडामा दाउरा वितरण गरेर सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले चिसोका कारण बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिलाहरू सबैभन्दा बढी प्रभावित भएकोले उनीहरूलाई विशेष लक्षित गरेर आगो ताप्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

चिसोबाट जोगाउन नगरपालिकाभित्रका सबै वडाहरूको करिब ९५ स्थानमा दाउरा वितरण गरिएको नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताउनुभयो ।

उहाँले सडक पिच भएका वडामा आगो बाल्न नमिल्ने भएकाले मकल/ड्रम को व्यवस्थापन गरी आगो ताप्ने व्यवस्थापन गरिएको जनाउँदै नगरपालिका र वडाका मुख्य चोक, मठ मन्दिर, ज्येष्ठ नागरिक केन्द्र, प्रतीक्षालय, चौतारा लगायतमा आगो ताप्ने व्यवस्थापन गरिएको बताउनुभयो ।

हुस्सु, कुहिरो, शीतलहर र चिसो बढ्दै गएकाले थप दाउरा वितरण गर्ने जानकारी पनि नगरपालिकाले दिएको छ । दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्थापन गरेपछि मजदुर, बटुवा लगायतलाई केही राहत मिलेको नगरपालिकाका नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।

यसैगरी, नेपालगन्जका पनि विभिन्न स्थानमा दाउरा वितरण गरेर सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले सबै वडा कार्यालयलाई आफ्ना क्षेत्रमा दाउरा वितरण गर्न लगाएर आगो ताप्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

चिसो धेरै बढेपछि नेपालगन्ज उपमहानगर पालिकाले बिहीबारदेखि तीन दिनका लागि सबै विद्यालयहरू पनि बन्द गरेको प्रमुख विष्टले बताउनुभयो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १८:०३

लोकप्रिय