सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।
प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार ५०१ पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा एक लाख ३३ हजार २७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार ७७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उहाँको भनाइ थियो ।
सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताए । सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ ।
खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले बताए ।
उनका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनको भनाइ थियो ।
जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका केन्द्रसम्म सडक पुगिसकेको छ । खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए ।
उनले भने, ‘लुक्लासम्म गाडीको बाटो पुगेपछि पर्यटकलाई पनि सगरमाथा क्षेत्र भ्रमण गर्न सहज हुनेछ, अहिलेजस्तो हवाई सेवाकै भर पर्नु पर्दैन, त्यसैले लुक्लालाई जतिसक्दो चाँडो सडकमार्गले जोड्न स्थानीय सरकार लागिपरेको छ ।’
सोलुखुम्बुको लुक्लामा ९२८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित उक्त विमानस्थलमा सन् २०२३ मा नौ लाख २८ हजार ९८४ किलोग्राम अर्थात् ९२८ दशमलव ९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ ।
कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगाययत रहेका छन् । लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए । ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सोलुखुम्बु