सूचनाको शक्ति - The Power Of Information

        

१५ लाख फिरौती उठाउँदै गरेका तीन जना प्रहरीको फन्दामा

असुरैना–३, रुपन्देही घर भई चितवनको भरतपुर–१ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन आयो । फोन गर्नेले पैसा माग्दै नदिए मार्ने धम्की दियो । एनसेलका विभिन्न नम्बरबाट बारम्बार फोन गर्दै गुप्तासँग १५ लाख रुपैयाँ फिरौती मागियो ।

भनेको रकम नदिए गोली प्रहारबाट हत्या गर्ने धम्की दिनरात आयो । त्यसबारे जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेपछि प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा टोली परिचालित गरिएको थियो । टोलीले उजुरी परेको केही दिनमै तीन जना समातेको थियो ।

फोनबाट ज्यान मार्ने धम्की दिँदै फिरौती रकम मागिएको भनी गत पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी पर्नासाथ प्रहरीले संलग्नहरुको पहिचान तथा खोजतलास अघि बढाएको थियो । विभिन्न प्रविधिको प्रयोग, सूचना संकलन तथा सशंकित व्यक्तिको विशेष निगरानी गरिएको थियो ।

अस्ति तीन जनालाई भरतपुरका विभिन्न स्थानमा फिरौती रकम उठाउन आएकै अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर–२१ बस्ने २७ वर्षीय सरोज सुनार, भरतपुर–१ बस्ने २६ वर्षीय दिपक बिक र भरतपुर–२६ बस्ने २५ वर्षीय सागर प्रहरी नियन्त्रणमा छन् । उनीहरुविरुद्ध आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १४:१९

लोकप्रिय