बर्दियाका सोनाहा जाति पुर्खौंदेखि कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा बालुवा चालेर सुन खोज्दै आएका छन् । तथापि उनीहरू नै बिहान बेलुकाको छाक टार्न समस्यामा छन् । नेपालभर करिब दुई हजार जनसङ्ख्या रहेको सोनाहा जातिले बालुवा चालेर सुन खोज्न छाडेको पनि छैन । माछा मारिरहे पनि जीवनस्तर उठ्न सकेको छैन ।
सोनाहा समाजका अध्यक्ष शान्ति सोनाहाका अनुसार सोनाहा जातिको पेसा पछिल्लो समय सङ्कटमा पर्दै गएको छ । उनीहरूलाई बिहान बेलुका छाक टार्नसमेत समस्या हुन थालेको छ । उनका अनुसार कर्णाली नदी र यसमा आधारित स्रोतहरू घट्नु र यी स्रोतमा अन्य समुदायको पकड तथा सरकारी संयन्त्रको नियन्त्रणले सोनाहाको पेसा सङ्कटमा परेको हो ।
अध्यक्ष सोनाहाले भने, ‘सोनाहा जातिको माछा मार्ने पेसा अन्य जातिले थालेपछि हामी पछि परेका छौँ ।’ उनका अनुसार सोनाहा जातिले जाल खेलेरै माछा मार्दै आएका छन् । विद्युतीय धराप थापेर र विषादी प्रयोग गर्न हाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेसा सङ्कटमा परेको छ ।’ बालकृष्ण सोनाहाले माछा मार्ने पेसा मात्र होइन सुन चाल्ने पेसा पनि सङ्कटमा परेको बताए ।
उनका अनुसार बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवं डुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएको छ । यसले गर्दा सदियौँदेखि चलिआएको पुर्ख्यौली पेसा सङ्कटमा परेको हो । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिब ७२९ जना सोनाहाको बसोबास रहेको छ । उनीहरूले मुख्य रूपमा माछा मार्ने र सुन चाल्ने पेसा गर्दै आएका छन् ।
सोनाहाका यी दुवै पुर्ख्यौली पेसा सङ्कटमा परेपछि केही परिवारले वैकल्पिक पेसा अपनाएका छन् । केहीले गिट्टी, बालुवा चाल्ने काम गरिरहेका छन् । केहीले कपाल काट्ने पेसा सुरु गरेको बताइन्छ । गेरुवाका दुखाराम सोनाहाले पुर्ख्यौली पेसाबाट गुजारा गर्न समस्या भएपछि कपाल काट्ने पेसा सुरु गरेको बताए । उनले बाँच्नै मुस्किल भएपछि पुर्ख्यौली पेसा भनेर बसिरहन नसकी कपाल काट्न थालेको बताए ।
राज्यले सोनाहा जातिलाई लोपोन्मुखमा राखेको छैन । त्यसैले राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ । यो जातिको बसोबास खासगरी कञ्चनपुर, कैलाली र बर्दियालगायत पश्चिम तराईमा छ । सोनाहाको उद्गम थलो चाहिँ बर्दियास्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्र नै मानिन्छ । थारू समुदाय जस्तो देखिने भए पनि आफ्नै भाषा, संस्कृति, रहनसहन रहेका सोनाहा आफ्नो पहिचान जोगाउन सङ्घर्षरत छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बर्दिया