सूचनाको शक्ति - The Power Of Information

        

महिनौँदेखि औषधि अभाव जाजरकोटका भूकम्प पीडित समस्यामा

जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भए पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनिषा रावत भूकम्पपछि त्रिपालको बसाइँका कारण स्वास्थ्य समस्याबाट ग्रसित छन् ।

रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी मनिषाले औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएको बताइन् । त्यहाँ उनले स्वास्थ्य परीक्षण गराए पनि निःशुल्क दिनुपर्ने जीवनजल र सिटामोलसमेत स्वास्थ्य संस्थामा नपाउँदा मनीषा रित्तो हात फर्कन बाध्य भइन् ।

उनीजस्तै चिसोले धेरैलाई बिरामी पारेको बेला जुनीचाँदे गाउँपालिकामा औषधि अभाव हुँदा स्थानीयलाई निकै समस्या परिरहेको छ । लामो समय बितिसक्दा पनि औषधीको आपूर्ति हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोलसमेत पाइँदैन । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाँउपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन् ।

चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे–५ का कुलराज शाहीले बताए । चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दम लगायतका बिरामीको सङ्ख्या बढिरहेको छ तर औषधि छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिनादेखि औषधिविहीन छन् ।

यस आर्थिक वर्षमा औषधि आपूर्ति हुन सकेको छैन । साउन यता पालिकाले औषधि खरिद गरेको छैन भने सङ्घ र प्रदेश सरकारले पनि औषधि पठाएको छैन । औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताउन थालेका छन् । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले बताइन् ।

उनले चिसोले विभिन्न स्वास्थ्य समस्या भए पनि औषधि नहुँदा उपचार गर्न समस्या भएको बताइन् । चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । औषधि नहुँदा कतिपय बिरामीहरू स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेको जुनीचाँदे–१ बड्कुले स्वास्थ्य चौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले बताइन् ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतीक्षा भारतीले औषधि अभावको समाचारसँगै केही समयअघि केन्द्रबाट जिल्लामा स्टक औषधि पठाइएको बताइन् । जुनीचाँदे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले औषधि दुई हप्तासम्म पनि पालिकामा नपुगेको बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ११:०२