नेपाल होस् या छिमेकी मुलुक भारत अथवा अन्य कुनै विदेशी मुलुक नै किन नहोस् । आफ्ना सेवाग्राहीलाई सक्दो सहज रुपले सेवा उपलब्ध गराउने दायित्त्व उनको पहिलो प्राथमिकतामा पर्नुपर्छ । तर, नेपाली विमान कम्पनीहरूको दिनदिनैको लापरबाहीका कारण सेवाग्राही सँधै सास्ती खेप्न बाध्य भइरहन्छन् र यो कहिलेसम्म यस्तो भइरहने हो ठेगान छैन ।
नेपाली एयरलाइन्स विशेषगरी आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरूले तोकिएको समयमा सायदै कहिल्यै उडान गर्ने गरेको छ होला । एक घन्टा अघि नै विमानस्थल पुगेर सबै जाँच गराएर मात्रै अन्तिम चरणको प्रवेशद्वारमा जानुपर्ने भएकाले यात्रुहरू पनि सोही अनुसार समय मिलाएर घरबाट आफ्नो गन्तव्यका लागि हिँड्छन् ।
तर, मानौं ९ बजेको जहाज समय छ भने त्यो ९ बजे नै उड्दैन । समयभन्दा सँधै आधा एक वा त्योभन्दा पनि धेरै ढिलो गरी विमानले उडान भर्छ । जसको परिणाम यो हुन्छ की यात्रुले निर्धारण गरेका आफ्ना सबै काम प्रभावित त हुन्छ नै समयको पनि तालमेल मिल्दैन । र, यसले मानसिक, आर्थिक लगायत विभिन्न तनाव उत्पन्न गराउँछ ।
विमान उडानमा किन ढिलाई भइरहेको छ, विमान उडानमा ढिलाई छ भनेर पूर्व जानकारी एयरलाइन्स कम्पनीहरूले आफ्ना यात्रुहरूलाई समय पूर्व जानकारी नगराउँदा पनि त्यसले बेलाबेला नेपाली एयरलाइन्स कम्पनीप्रति सेवाग्राहीको आक्रोश विमानस्थलमै पनि देख्न र सुन्न पाइन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो समस्या जाडोयामको मात्रै होइन अन्य समयमा पनि उस्तै हो ।
गर्मी होस् वा मनसुन होस् वा जाडो याम होस् समस्या सँधै एक समान नै देखिन्छ । तर, भारतको सन्दर्भमा भने बिरलै विमान ढिलाईको समाचार सुन्न पाइन्छ । तर, यो वर्षको जाडोयामले भारतलाई पनि छोडेन । अत्यधिक कुहिरोका कारण भारतमा पनि विमान उडान प्रभावित बनेको छ । जसका कारण यात्रुहरू मर्कामा परेका छन् ।
पछिल्लो समय भारतका विभिन्न निजी विमानस्थलमा उडान प्रभावित भएपछि यात्रुहरूले पाइलटमाथि हातपात मात्रै गरेनन् रनवे मै खाना खान थालेपछि घटना थप चर्चामा आएको छ । भारत महाराष्ट्रको बम्बई एयरपोर्टको रनवेमा यात्रुहरूले उडानमा भएको ढिलाई र विमान कम्पनीले जानकारी नगराएको विरोधमा रनवे मै खाना खान थालेको भिडियो भाइरल बनेको छ ।
घटनापछि केन्द्र सरकारले एयरलाइन्स कम्पनीलाई कारण देखाउ भन्दै नोटिस जारी गरेको छ । बीबीसीका अनुसार भिडियो भाइरल भएपछि केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सोमवार मन्त्रालयका सबै अधिकारीलाई बोलाएर बैठक गरेका थिए भने मङ्गलवार नियामक ब्यूरो अफ सिभिल एभिएशन सिक्योरिटीले विमान कम्पनी इन्डिगो र बम्बई एयरपोर्टलाई पत्र पठाएको छ ।
समयमा जवाव नदिएको खण्डमा जरिवानासहित कारबाही गर्ने पत्रमा चेतावनी समेत दिइएको छ । तर, नेपालमा आजसम्म सुन्न पनि पाइएको छैन कि विमानमा ढिलाई हुँदा सरकारले कुनैपनि विमान कम्पनीलाई सोधपुछ गरेको छ वा कारबाही गरेको छ ।
गोवा–दिल्ली उडानमा ढिलाई भएपछि त्यसलाई डाइभर्ट गरेर बम्बई एयरपोर्ट लगियो । तर, विमानका यात्रुहरू बाहिर निस्केर रनवेमा खाना खान थाले भने केही रनवे मै बसिरहे । घटना लगतै एयरपोर्ट सुरक्षा निकायले यात्रुहरूलाई सुरक्षित क्षेत्रमा लगेर रनवे खाली गराएका थिए । आइतवार गोवाबाट दिल्लीका लागि उडेको जहाज वाक्लो कुहिरोका कारण दिल्ली अवतरण गर्न सकेन र जहाजलाई डाइभर्ट गरेर बम्बई लगिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं