क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई पठाएकोे पत्र सार्वजनिक भएको छ । बलात्कार मुद्धामा दोषी ठहर भएका उनी क्रिकेटबाट अलग भइसकेका छन् । त्यसअघि उनले क्यानलाई लामोपत्र लेखेका थिए ।
सन्दीपले क्यानलाई पठाएको पत्रमा अदालतले सुनाएको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । तर, आफू षडयन्त्रमूलक योजना तथा मिडिया ट्रायलको शिकार भएको उनको भनाइ छ ।
क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेको पत्रमा सन्दीपले भनेका छन्, ‘म आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइएको छ ।’
मिति २०८० पुस २५
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दज्यू
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काज्यू
क्यान एक्सको समिति
विषय : राष्ट्रिय क्रिकेट टीम त्यागेको सम्बन्धमा
आदरणीय सरहरू,
सर्वप्रथम त म चतुरबहादुर चन्द सर र पारस दाइलाई क्यानको अध्यक्ष र सचिवमा निर्वाचित हुनुभएकोमा बधाइ दिन चाहन्छु । म तपाईंहरु दुवैजनाको सफल कार्यकालको कामना गर्दछु । तपाईंहरुको कार्यकालमा र त्यसपश्चात पनि नेपाली क्रिकेट अर्को स्तरमा पुग्नेमा विश्वस्त छु । मैले क्रिकेट खेल्न सिकेदेखि नेपालको जर्सीमा खेल्ने मेरो ठूलो सपना थियो ।
मेरो कडा परिश्रम, खेलप्रतिको समर्पण, मेरो परिवार र विश्वभर छरिएर रहनुभएका मेरा सम्पुर्ण दाजुभाई–दिदीबहिनीहरुको साथले, म राष्ट्रिय क्रिकेट टोलीको हिस्सा बन्न सफल भएँ । मलाई यौन दुराचारको गलत आरोप नलागिञ्जेलसम्म कप्तान भएर टीमको नेतृत्व गर्ने मौका समेत पाएँ । मैले के योगदान दिएको छु, त्यो कुरा म दोहोर्याउन चाहन्न ।
मेरो खेलजीवन खुला अनि सार्वजनिक छ । साथै, सबैले सदैव समिक्षा गर्नका लागि उपलब्ध पनि छ । तपाईँहरूलाई थाहै छ, अहिले म मेरो जिन्दगीको कठिन समयबाट गुज्रिरहेको छु । आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रको शूलीमा चढाइएको छ । मैले अनुसन्धान र न्यायिक प्रक्रियाको हरेक चरणमा साथ दिएँ । अन्तमा, काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर्यायो ।
मैले सँधै अदालतको स्वतन्त्रता र निष्पक्षतामा विश्वास गरेको छु । अदालतले मलाई सुनाएको फैसला वास्तविकताभन्दा टाढा भए तापनि अदालतप्रतिको मेरो विश्वास भने अपरिवर्तित र झनै बलियो रहनेछ । ममाथि गरिएको फैसला षड्यन्त्र, क्रोध, डिजाइन र एकमात्र बयानमा आधारित छ जस्तो लाग्छ । एकातर्फ म मिडियाको ट्रायल र डिप्रेसनबाट गुज्रिरहेको छु भने अर्कातर्फ उत्तिकै बलियो र न्यायको आशामा छु ।
आदरणीय सरहरू,
चलिरहेको मुद्दा र जमानतको बाबजुद पनि मैले आफ्नो सम्पुर्ण ध्यान देश र क्रिकेट टोलीमा केन्द्रित गर्ने प्रयास गरेँ । उत्कृष्ट खेल खेल्न सक्षम पनि रहेँ । मलाई गर्व छ कि म जस्तोसुकै परिस्थितिबाट गुज्रिँदा पनि देशलाई मेरो आवश्यकता परेको समय म क्रिकेट टोलीको हिस्सा बन्न पाएँ । गत वर्ष टीयू मैदानमा हजारौंको संख्यामा क्रिकेटका सच्चा प्रशंसकहरू देखेर म खुसी भएँ ।
बारम्बार आफुले हरेक कुरामाथिको आशा र भरोसा गुमाएको महसुस गरे पनि, म आफूलाई सबै प्रकारका डिप्रेसन, चिन्ता र स्वास्थ्य समस्याबाट टाढा राखेर अन्याय र षड्यन्त्रविरुद्ध लड्न आफैंलाई पुनःजागृत गर्दैछु । मैले एकदिन न्याय पाउनेछु भन्ने गहिरो विश्वास छ । जसले मलाई जेलभित्र पु¥याउने योजना बुनेका छन् उनीहरूले एकदिन कानूनबाट नभए पनि भगवानबाट परिणाम भोग्नेछन भन्नेमा पनि म विश्वस्त छु ।
म ती मिडियाहरुलाई पनि धन्यवाद दिन्छु जसले मलाई अदालतले दोषी ठह¥याउनुअघि नै ममाथि फैसला सुनाए र ‘सुन्दर’ कथाहरू बुनेर अदालतलाई दबाबमा राखे । यस्तो षड्यन्त्रको म पहिलो र अन्तिम शिकार नहुन सक्छु । यो जोसुकैलाई जुनसुकै र जस्तोसुकै बेलामा हुन सक्छ । गलतलाई साथ दिनेले एकदिन गलतकै सामना गर्नुपर्नेछ । उनीहरूलाई भगवान्को आशीर्वाद रहोस् ।
आदरणीय सरहरू,
म तपाईंहरू र क्यानले दिएको साथका निम्ति सदैव कृतज्ञता व्यक्त गर्दछु । मलाई थाहा छ म निर्दोष छु र मलाई निर्दोष रहने अधिकार छ । देशको कानून र हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ । फैसला स्वीकार गर्नुबाहेक मसँग अरु विकल्प छैन । तसर्थ, म अदालतबाट निर्दोष साबित नभएसम्म राष्ट्रिय क्रिकेट टोलीमा क्यानले दिएको जर्सी लगाएर नखेल्ने निर्णय गरेको छु । म यसरी पछि हट्नु पछाडिको नियति क्यानले अवश्य बुझेको छ । अहिले म गम्भीर आर्थिक संकटमा परेकाले गर्दा क्यानलाई मेरो बाँकी भुक्तानीहरू पनि जारी गरिदिन अनुरोध गर्दछु ।
अन्त्यमा, क्रिकेटका मेरा साथीहरूले राष्ट्रिय टीममा मेरो कमी महसुस गर्ने छैनन्, आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्नेछन् र नेपाली टीमलाई माथि उठाउन कुनै कसर छाड्ने छैनन् भन्नेमा म विश्वस्त छु । हामीले टोलीलाई यो स्तरमा पु¥याएका छौं, तर अझै धेरै माथि पु¥याउने बाँकी छ । हामीले जित्नुपर्छ । मात्र जित्नुपर्छ र इतिहास रच्नुपर्छ । मलाई थाहा छैन म कहाँ हुनेछु, तर म जहाँ पनि हुनेछु क्रिकेट र मेरा सबै साथीहरूको उत्कृष्ट प्रदर्शनलाई नजिकबाट नियालिरहने छु । क्रिकेट खेलाडी र क्रिकेट प्रशंसक दुवै रूपमा म आफुलाई कहिल्यै क्रिकेटबाट टाढा सोच्न सक्दिनँ ।
सबैभन्दा कठिन समयमा मलाई समर्थन र संरक्षण गर्नु भएकोमा म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । यो चरणसम्म मलाई साथ दिनुहुने र मलाई बलियो बनाउनुहुने तपाईँहरू, मेरा प्रिय फ्यानहरू र क्रिकेटप्रेमीहरूप्रति म ऋणी छु । अहिले मेरो जीवन, करियर र सम्बन्धहरूमा अन्धकार छाएको अवस्था छ । तर, मेरो उज्यालो दिन आउनेछ भन्नेमा म पक्का छु । एकदिन सबै भित्री वास्तविकता र षड्यन्त्र बाहिरिनेछ भन्नेमा पनि म ढुक्क छु ।
म समाप्त भएको, हराएको र त्यागिएको छैन । म सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गर्दैछु । सम्माननीय अदालतबाट छिट्टै न्यायको पर्खाइमा छु र मेरो अन्तिम साससम्म न्याय खोज्नेछु । आफ्नो खेलाडीको संरक्षण र प्रतिरक्षा गर्न क्यान पनि समानरुपले बलियो रहनेमा म विश्वस्त छु । मेरा कारण मेरो कानूनी टीमलगायत उहाँहरूको परिवार र पेशामा समेत विभिन्न आरोपहरू लागे । उहाँहरू सबैको सहिष्णुताप्रति म हार्दिक आभार प्रकट गर्दछु । म मेरो कानूनी टीमको समर्थन र परामर्शबाट प्रेरित र उत्प्रेरित छु । कानूनको अदालतमा मलाई समर्थन र रक्षा गर्नुभएकोमा तपाईँहरूलाई धन्यवाद ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं