सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ कर्मचारी (नामसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वकीय सचिवालयका १३ जना कर्मचारी हटाइएका छन् । १ माघदेखि लागू हुने गरी प्रचण्डले आफ्नो स्वकीय सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक हटाएका हुन् ।

प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैकाअनुसार १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो । स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ बिदा भएका छन् । स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली हटाइएका कर्मचारीमा परेका छन् ।

कम्प्युटर सहायक वासुदेव शर्मा, खड्क योगी र कार्यालय सहयोगी अविनाश वाइवा, चालक रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाही पनि सचिवालयबाट हटेका छन् । ‘प्रधामनन्त्री कार्यालयको सचिवसहित विभिन्न पदको दरबन्दी कटौती गरेर चुस्त बनाउने क्रममा सचिवालयमा पनि कटौती गरिएको हो,’ प्रमुख स्वकीय सचिव दरैको दाबी छ ।

१३ जना बिदाइ भए पनि सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए । सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ । प्रधानमन्त्रीले अर्थ मामिलाका सल्लाहकार पनि सचिवालयमा थप्न सक्ने अधिकारीहरु बताउँछन् । अहिलेसम्म प्रधामनन्त्रीको स्वीकय सचिवालयमा ३५ जना नियुक्त भएर कार्यरत थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १७:१५

लोकप्रिय