सूचनाको शक्ति - The Power Of Information

        

माघ २१ गते बिहे गर्दै देउवाका छोरा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन् । देउवाको पारिवारिक स्रोतका अनुसार यही माघ २१ गते जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन् ।

छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि (बुधबार) देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेकाे देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे ।

बुढानीलकण्ठ निवासबाटै इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।

शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ। जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् ।

यता शिवाना सौन्दर्य सामग्री (ब्युटी—प्रडक्ट) को व्यापारमा छिन्। उनी कभर गायक पनि हुन्। जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १६:०७

लोकप्रिय