२०८३ कात्तिक ८ , शनिबार 25, October 2026, Sunday

सशस्त्रको राशनमा गोलमाल, कार्यालयपिच्छे अनियमितताको चाङ

सशस्त्र प्रहरी मुख्यालयमा रहेका आइजीपी राजु अर्यालले जतिसुकै कडा गरेपनि मातहतमा काम गर्ने विभागीय प्रमुखहरुले छिद्र खोजेर अनियमितता गरिरहका छन् । केही दिनअघि साताव्यापी निरीक्षणमा पुगेका आइजीपी अर्यालले आफ्ना कर्मचारीको दुःखलाई पोको पारेर गृह मन्त्रालयमा पोखेका भए पनि मातहत निकायले असहयोग गर्दा कार्यालयपिच्छे अनियमितताको चाङ लागेको हो ।

माघ ९ गते सशस्त्र प्रहरीको स्थापना दिवस रहेको त्यतिबेला आफ्ना कर्मचारीहरूको दर्दमा मल्हम लगाउने गरी केही कार्यक्रमहरु कोसिस भैरहेको बेला सशस्त्र प्रहरीका तालिम केन्द्रमा राशन अनियमितता हुने गरेको पाइएको छ । खासगरी तालिममा भएका कर्मचारीहरुले आउट जाँदाको समेत पुरै पैसा तिर्नुपर्ने अवस्था रहेको छ ।

तालिममा भएका कर्मचारीहरूले आउट पठाउदा कार्यालय प्रमुखहरूले अतिरिक्त आम्दानीको स्रोतको रुपमा प्रयोग गर्ने भएकाले तालिमेहरूको रकमका हाकिमहरूको हालीमुहाली भएको छ । यो समस्या ककनी, एकेडेमी, पोखरा, बर्दघाट र कैलालीका तालिम केन्द्रमा बढी रहेको बताइएको छ । अहिले सशस्त्रको मातातिर्थ स्थित एकेडेमीमा ३–४ वटा तालिम संचालनमा छ्न् । ती सबै तालिमका कर्मचारी शुक्रबार आउट गएर शनिबार साँझ आउंछ्न् ।

यसरी महिनामा ६–७ दिन त उनीहरू बाहिरै हुन्छन् तर, राशनको पैसा भने पुरै तिर्नुपर्छ । यता ककनीको तालिम केन्द्रमा पनि उही समस्या छ । अहिले विभिन्न गरि २ सय बढी तालिमरत सो केन्द्रका प्रमुख एसएसपी कृष्ण ढकाल छ्न् । संगठनमा आफू मात्र अब्बल भन्ने सोच भएका उनले पनि तालिमका कर्मचारी आउट छोडेको पुरै पैसा उठाउने र ककनी घुम्न जाने आफन्त र साथीभाइको लागि खर्च गर्ने गरेको स्रोतको दाबी छ ।

शुक्रबार आउटबाहेक कतिपय तालिमको बाहिरी अभ्यासपछि एक हप्तासम्म बिदा छोडिने तर, राशनको पैसा भने पुरै बुझाउनुपर्ने अवस्था रहेको एक कर्मचारीले बताए । तर, यस बिषयमा गुनासो गर्ने अवस्था नरहेको र गुनासो गरेमा अनेक बहाना निकालेर दुख दिने गरेको उनले बताए । एकेडेमीमा त अझ सिनियर अधिकृतसमेत यस बिषयमा बोल्दैनन् ।

कोशी प्रदेशबाट फिर्ता भएको ६ महिनामै एकेडेमीको कमाण्ड सम्हाल्न पुगेका डिआइजी कमल गिरीले समेत एकेडेमीमा विकृति बढाएको बताइन्छ । अहिले त्यहाँ आफुले पढाउने समयमा बाहेक सिनियर अधिकृत कोही पनि नभेटिने अवस्था छ । कतिसम्म भने डिएसपी तालिमे हुंदा पिटी हाजिर लिन जुनियर इन्सपेक्टर आउने गरेको भर्खर तालिम सकाएका मुख्यालय आएका एक डिएसपीले बताए ।

यता बर्दघाटमा पनि त्यही समस्या छ । एसएसपी विश्व भट्टराई घर जाने बेला भएकोले जति सकिन्छ राशनको पैसा खान ब्यस्त छन् । घर जाने बेला भएको व्यक्तिलाई कमाण्ड गर्न नदिने नीति भएपनि माथिल्लो तहबाट सोर्समा पुगेका भट्टराई डिआइजी हुंदाहुँदै एक वर्ष सुदुरपश्चिम बाहिनीको निमित्त बाहिनीपति हुन सफल भएका थिए ।

शक्तिकेन्द्र रिझाएर बर्दघाट तालिम केन्द्र पुगेका उनले त्यहाँ जतिसक्दो तालिमेहरूलाई कसिरहेको स्रोतको दाबी छ । घर जाने बेला भएकोले आकर्षक तालिमकेन्द्र पुगेका उनी व्यक्तिगत फाइदामात्र हेर्ने अधिकृत मानिन्छन् । यहि समस्या कैलाली र पोखराको तालिम केन्द्रमा पनि छ । जुन तालिम केन्द्रहरूमा तालिममा भएका कर्मचारीको राशनको शोषण भइरहेको मुख्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मंगलबार