सूचनाको शक्ति - The Power Of Information

        

त्रिशूलीमा ‘गाडी खसेको’ अपुष्ट सूचना, गोताखोर परिचालन

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ अपुष्ट सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।

अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।

मुग्लिन प्रहरीका इन्स्पेक्टर विशाल तामाङले भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’ नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ ।

तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन । ‘नम्बर प्लेट त कसैले उहिल्यै फ्याँकेको पनि हुनसक्छ,’ प्रहरी निरीक्षक तामाङले भने, ‘गोताखोरको टोली डुंगा लिएर नदीमा छिरेको छ, त्यो टोलीले पत्ता नलगाएसम्म यकिनका साथ केही भन्न सक्ने अवस्था छैन ।’

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०७:३७

लोकप्रिय