बाँकेको नेपालगन्जमा रहेका आश्रमका ज्येष्ठ नागरिक तथा बालबालिकालाई माघी (माघे संक्रान्ति) को अवसरमा खिचडी खुवाइनुका साथै न्यानो कपडा वितरण गरिएको छ ।
मिथिला सेवा समाज नेपालगन्ज बाँकेको स्थापना दिवसको अवसर पारेर नेपालगन्जमा रहेको निलसागर आश्रममा रहेका दुईसय जना ज्येष्ठ नागरिक र बालबालिकालाई खिचडी खुवाएर माघी पर्व मनाइएको समाजका सचिव भरत महतोले जानकारी दिनुभयो ।
त्यसैगरी नेपालगन्जमै रहेको अर्को मानव सेवा आश्रममा रहेका ६८ जना आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालमा हरेक जातजाति, समुदाय र क्षेत्रमा मनाइने चाडपर्वको आ–आफ्नै विशेषता हुने भन्दै यसले राष्ट्रिय महत्वका साथ नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
“यस्ता चाडपर्वले नेपालका विभिन्न जातजातिबिच एकआपसमा भाइचाराको सम्बन्ध बढाइ राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्दछ” प्रजिअ पोखरेलले भन्नुभयो, “हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्त्वपूर्ण योगदान गरेको छ ।”
प्रजिअ पोखरेलले मिथिला सेवा समाजलाई जातीय र सम्प्रदायका आधारमा केन्द्रित भएर मात्रै नभएर मानव हितमा केन्द्रित भएर काम गर्न सुझाव दिँदै माघी पर्वको शुभकामना दिनुभएको थियो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर नेपालीले नै आ–आफ्नो मौलिकतामा धूमधामका साथ मनाउने माघी पर्वको माध्यमबाट नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
नरैनापुर गाउँपालिका अध्यक्ष साह, प्रमुख जिल्ला अधिकारी पोखरेल, बाँकेका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहरा र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले न्यानो कम्बल प्रदान गरी ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा मेची–महाकाली मधेशी समाजका केन्द्रीय कोषाध्यक्ष बेबी मण्डल, एमालेका नेता मीनबहादुर मल्ल, झबि शर्मा, जसपा नेपालका नेता अरुण सिंह लगायतको सहभागिता थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके