सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन

नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगर सभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहाेरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरिएको सभा सचिव प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताउनुभयो । अधिवेशनको खुला छलफलमा नगर सभा सदस्यहरू राजकुमार साहु, दीपककुमार वर्मा, गोपाल पुन, कौशलकुमार धोबी र मनोजकुमार श्रेष्ठ, नन्दकिशोर कश्यप, सराफत खाँ, चक्रबहादुर बुढा, दिग्विजय ढुङ्गाना, अरुणकुमार मिश्र र विनोदकुमार रस्तोगीले बोल्नुभएको थियो ।

नगर सभामा २३ वटै वडाका वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, २३ वटै वडाका वडा सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका सम्पूर्ण शाखा तथा महाशाखाका प्रमुख एवं कर्मचारीको सहभागिता रहेको थियो ।

नगर सभामा नगरको अर्धवार्षिक प्रगतिको समीक्षा पनि गरिएको थियो । उपमहानगरपालिकाले चालू आवको हालसम्म ५४ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ । अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजस्वतर्फ रु १९ करोड अनुमानित आय रहेकामा हालसम्म रु १० करोड २७ लाख ४१ हजार सङ्कलन भएको  उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो ।

उपप्रमुख कमरुद्दिनकाअनुसार उपमहानगरपालिकाको आवमा चालूतर्फ ३२।७ प्रतिशत, पुँजीगततर्फ १३।४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३।८१ प्रतिशत वित्तीय प्रगति भएको छ । भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्यअनुरूप इएफटीमार्फत सम्बन्धित खातामा नै भुक्तानी गर्ने व्यवस्था, घरदेखि अस्पतालसम्म २४ घण्टे निःशुल्क सञ्चालित एम्बुलेन्स सेवामार्फत हालसम्म दुई सय ५० जना लाभान्वित, स्थानीय पाठ्यपुस्तक निर्माण र कार्यान्वयन, सूचना प्रविधिमैत्री शिक्षण सिकाइ, बालविवाहमुक्त उपमहानगरपालिका दिगोपनाका लागि निरन्तर अभियान सञ्चालन, सहकारी अनुगमन, बजार अनुगमन, ‘इएफटी’मार्फत सामाजिक सुरक्षाभत्ता वितरण, नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बागेश्वरी मन्दिर परिसरमा साप्ताहिकरुपमा सन्ध्याकालीन महाआरती सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ ।

सहरका मुख्य सडकको निरन्तर सरसफाइ, स्वास्थ्यजन्य फोहाेरमैला व्यवस्थापन प्रभावकारीरुपमा सञ्चालन, वडा नम्बर ३ र ७ मा समुदायस्तरमा आगलागी, भूकम्प लगायत विपद्का विभिन्न स्वरूपसम्बन्धी पूर्वघटना अभ्यास, कमजोर भौतिक संरचनाको प्रबलीकरण, आपत्कालीन कार्यसञ्चालन निर्देशिका २०८०, विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८०, व्यावसायिक निरन्तरता योजना २०८०, विपद् जोखिम बिमासम्बन्धी कार्यविधि २०८० र नगर विपद् व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० निर्माण भई कार्यान्वयनमा रहेको जनाइएको छ ।

एक सय आठ फिट अग्लो हनुमानको मूर्ति, बागेश्वरी मन्दिरमा जुँगे महादेवको मन्दिर तथा पुल स्तरोन्नतिलगायत काम अन्तिम चरणमा रहेको उपमहानगरपालिकाले जनाएको छ । तरकारी र च्याउ पकेटको निरन्तरता दिई ५० प्रतिशत अनुदानमा २५ मेट्रिकटन गहुँ कृषकलाई उपलब्ध गराइएको, सडक सुरक्षा व्यवस्थापन अन्तर्गत छाडा पशुचौपायाका लागि राप्तीसोनारी गाउँपालिकासँग सम्झौता गरी काञ्जीहाउसमा पठाउन सुरु गरिएको, पैदलमार्ग र विद्युतीय रिक्सा व्यवस्थापनको काम अघि बढेको, वाटरपार्कमा साइकल पथ निर्माण सुरुआत गरिएको छ ।

यसैगरी ‘डिजिटल’ घर नम्बर प्रणाली सुरु भएको, मुख्य चोकको सालिक मर्मत, रङरोगन र चोक सरसफाइको काम गरिएको, मुख्य र भित्री नाला सफाइ गरिएको, फोहाेरमैला व्यवस्थापनका लागि सचेतना प्रवर्द्धन र जरिवाना अभियान थालिएको, नेपालगञ्ज नाकाको प्रवेशद्वार रङरोगन, सौन्दर्यकरण तथा राष्ट्रिय झण्डा फहराइएको, ‘डिजिटलाइजेशन’लाई अभियानकैरुपमा अगाडि बढाइएकोलगायत प्रगति अधिवेशनमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २९ पुष २०८०, आइतवार १५:३४

लोकप्रिय