सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

शीतलहरसँगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ । नगर प्रमुख विष्टले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकमा समेत दाउरा वितरण गर्ने बताए ।

‘शीतलहरको सुरुआतसँगै चिसो अत्यधिक बढेकाले सर्वसाधारणको सहजताका लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएका हौँ,’ नगर प्रमुख विष्टले भने, ‘जाडोका कारण आगो ताप्न नपाएर बाँकेमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन ।’

नेपालगन्जका रामलीला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवन चोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्कभित्र, कारकाँदो चोक, विशाल चोक, पीपल चौतारा खजुरा रोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।

उक्त दाउरा वितरण र सामूहिक आगो ताप्ने कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख बोगटी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ पुष २०८०, आइतवार १५:०८

लोकप्रिय