सूचनाको शक्ति - The Power Of Information

        

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको पूर्व अध्यक्ष कुसुम बस्नेतको बस दुर्घटनामा निधन भएपछि आयोजकले कुनै पनि औपचारिक कार्यक्रम नगरी प्रदर्शनीको समापन गरेको हो ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले प्रदर्शनीको दौरान पुर्व अध्यक्षको निधनको खबरले आम महिला उद्यमीहरु मर्माहित भएको बताइन् ।

उनले भनिन्, ‘महिला उद्यमीलाई प्रोत्साहन गर्ने, हक अधिकारलाई स्थापित गराउने अभियानमा उहाँको महत्वपूर्ण योगदान छ । उहाँको निधनको खबर आम महिला उद्यमीहरुका लागि अतुलनीय क्षति हो । त्यसैले हामीले समापनमा कुनै पनि कार्यक्रम गरेनौं ।’

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण, प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी गर्दै आएको छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा पुष २४ गतेदेखि सुरु भएको प्रदर्शनीमा सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले आफ्नो स्टल राखेका थिए ।

स्थानीय स्तरमा महिला उद्यमले सञ्चालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यान्न तथा परिकार, हस्तकलाका सामग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामग्रीहरुका स्टल प्रदर्शनीमा रहेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग, केएल दुगडको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा प्रदर्शनी भएको थियो । प्रदर्शनीमा ६५ भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका थिए ।

प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने, निःशुल्क सुगर र ब्लड प्रेसरको परीक्षण, महिलाहरुको पाठेघरमा हुने क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरिएको थियो । यसैगरी प्रदर्शनीका दौरान महिला उद्यमीहरुको समस्या, चुनौती र सम्भावना बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । प्रदर्शनीको दौरान ३०२औं पृथ्वी जयन्ती पनि मनाइएको थियो ।

प्रकाशित मिति : २९ पुष २०८०, आइतवार ०७:४१

लोकप्रिय