सूचनाको शक्ति - The Power Of Information

        

भालुवाङ बस दुर्घटना : सबैजसो घाइतेको अनुहारमा चोट

दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएका सबैजसो यात्रुको अनुहारमा चोट लागेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति १०ः३० बजे राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै, तीन जनाको अस्पताल लग्दै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये नौ जनाको सनाखत भएको छ । बाँकेकी कुसुम बस्नेत, हेटौंडाका शौरभ विष्ट, जुम्लाको चन्दननाथका मुनबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुमको गोतामकोटका दिपक डाँगी, भारतका योगेन्द्र राम, काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे र भारतको उत्तर प्रदेशका मुनेको ज्यान गएको हो । तीन जनाको सनाखत हुन बाँकी छ ।

त्यस्तै, दुर्घटनामा काठमाडौंको कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, बाँकेका २० वर्षीय निरञ्जन कोरी, नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, काठमाडौंका सञ्जु बरुवाल, बाँकेका २० वर्षीय महमोद जाबेद, कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, भारतकी २० वर्षीया छोटी सिलौरा, बर्दियाका २२ वर्षीय राजीव थारु, जुम्लाका १९ वर्षीय विशाल बोहरा र बाँकेका १९ वर्षीया नफिच खान घाइते भएका छन् ।

यसैगरी, बाँकेका दशरथ विक, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मगर, काठमाठौंकी ११ वर्षीया आध्या पाण्डे, बाँकेको राप्तीसोनारीका ३१ वर्षीय कुलबहादुर गोसाई, काठमाडौंका ४५ वर्षीय सुभाष शाक्य, बाँकेको नेपालगन्जकी ३५ वर्षीया लिला वली, बाँकेकै २१ वर्षीय शंकर थारु, भारतका २३ वर्षीया राहुल कुमार अहिर, रौतहटका २६ वर्षीया सञ्जय कार्की र काठमाडौंकी ४५ वर्षीया राधा पाण्डे घाइते भएका छन् ।

घाइतेहरूको दाङ, बुटवल नेपालगन्जमा उपचार भइरहेको घाइतेमध्ये ११ जनालाई बढी चोट लागेको छ भने १२ जना सामान्य छन् । सबैजसो घाइतेको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक केसीले बताए । केहीको हात, खट्टा पनि भाँचिएका छन् । केहीको ढाडमा पनि चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुष २०८०, शनिबार ११:५३

लोकप्रिय