सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा बढ्दैछ बेरोजगारी

भिजिट भिसामा डरलाग्दो सेटिङ्ग

कतिपय कम्पनीले कामदारलाई पैसाको प्रलोभन देखाएर गैरकानुनी रुपमा काममा लगाउने गर्दछन् । जसले कामदारलाई कानुनी रुपमा कमजोर बनाउँदछ ।

वैदेशिक रोजगारी नेपालीहरुको नियति बनेको छ । मुलुक शिक्षित बेरोजगारको कारखाना बन्दैछ भने आफ्नो सीप, दक्षता र योग्यताअनुसार रोजगारी नपाउँदा विदेशिनेको संख्या उच्च छ । बेरोजगारी दिनप्रतिदिन बढ्दैछ । जसका कारण मुलुक छोड्नेहरुको लर्को लागेको छ । सुनौलो र उन्नत भविष्य निर्माण गर्न विदेश जानैपर्ने बाध्यता छ ।

यता, ‘भिजिट भिसा’ मा विदेश गएर त्यतै लुकीछिपी काम गर्ने नेपालीहरु ह्वात्तै बढेका छन् । विभिन्न म्यानपावर र व्यक्तिहरुले गैरकानुनी रुपमा नेपालीलाई विदेश पठाइरहेका छन् । कुवेत, दुबई, संयुक्त अरब ईमिरेट्स, कतार, बहराईन्, मलेसिया, सिंगापुरजस्ता विभिन्न मुलुकलाई गन्तव्य देखाएर भिजिट भिसामा जाने गरिएको छ ।

ती मुलुकमा गएका युवायुवती त्यहीबाट युरोप, अफ्रिका र अमेरिका लगायतका मुलुक छिर्छन् । नेपालमा सुरक्षा खतरा रहेको बनावटी कारण देखाउँदै उनीहरु शरणार्थी र सोही देशको नागरिक बन्ने प्रयास गर्दछन् । कतिपयले पर्यटन भीसालाई कामदार भिसामा रुपान्तरण गरेर काम गर्दै आएका छन् ।

वैदेशिक रोजगारसम्बद्ध कम्पनीहरुलाई बाइपास गरी केही व्यक्तिहरु आफ्नो नातेदारमार्फत् भिसा मगाएर रोजगारीका लागि विदेश जाने गरेका छन् । सरकारले मलेसियासहित खाडी मुलुक जानेलाई ‘फ्रि टिकट, फ्रि भिसा’को व्यवस्था गरिएको छ । तर, सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीहरुले स्वदेशमा हुने सम्पूर्ण खर्च व्यहोर्न नचाहेको देखिन्छ ।

यसकारण नेपालबाट उक्त कम्पनीमा कार्यरत कामदारका विश्वासिलो नातेदारहरुमार्फत् भिजिट भिसामा उनीहरुले श्रमिक लैजाने गरेका छन् । त्यहाँ पुगेपछि कम्पनीले सम्बन्धित मुलुकको कानुन अनुसार कागजात बनाएर काममा लगाउने गरेको पाइएको छ । रुसी र युक्रेनी सेनामा भर्ना हुन नेपालीलाई दलालको समूहले भिजिट भिसामा त्यहाँ पुर्याएको विषयले पनि यसलाई पुष्टि गर्दछ ।

किन बढ्दैछ भिजिट भिसामा जानेको संख्या ?

नेपालबाट श्रमिक सोझै कम्पनीसम्म पुग्दैनन् । उताको कम्पनीले सोही मुलुकमा रहेका ‘जब सेन्टर’सँग कामदार माग गरेपछि उक्त कम्पनीले यहाँको म्यानपावरसँग कामदार माग गर्दछ । श्रीमक भिसामा विदेश लैजाँदा वैदशिक रोजगार विभाग, श्रम कार्यालय र वैदेशिक रोजगार व्यवसायीहरु उत्तरदायी हुने र कम्पनीसम्म कम दबाब पुग्दछ । किनकि रोजगारदाता कम्पनी पुग्नुअगावै केही तह र चरणका व्यवसायीहरुसम्म उनीहरु पुगिसकेका हुन्छन् ।

तथापि, यसरी नियमसंगत ढंगले गएका कामदारहरुका लागि सम्बन्धित वैदेशिक रोजगारसम्बद्ध कम्पनीमार्फत् र राजदूतावासबाट समेत दबाब आउने गर्दछ । अनावश्यक दबाब लिन नचाहने हुँदा कम्पनीहरुले सकेसम्म पर्यटन भीसामा बोलाएर कामदार भिसामा परिवर्तन गर्छन् र काममा लगाउँछन् । कतिपय कम्पनीले कामदारलाई पैसाको प्रलोभन देखाएर गैरकानुनी रुपमा काममा लगाउने गर्दछन् । जसले कामदारलाई कानुनी रुपमा कमजोर बनाउँदछ ।

पर्यटक भिसामा गएका कामदारको सबैभन्दा बढी श्रम शोषण हुँदै आइरहेको छ । कम्पनीले भिसाको म्याद थपिदिने भन्दै गैरकानुनी रुपमा राख्ने र श्रम शोषण गर्ने गरेको जानकारहरु बताउँछन् । गैरकानुनी कामदारहरु कानुनी रुपमा कमजोर हुने हुँदा उनीहरु श्रम शोषण सहेर बस्न बाध्य छन् । त्यस्तै, तेस्रो मुलुकमा प्रवेश गर्न पनि पर्यटन भिसामा जाने गरिएको छ ।

गैरकानुनी कार्यमा प्रतिष्ठित व्यक्तिहरुको सहयोग

पर्यटन भिसामा लगेर त्यतै लुक्न सहयोग गर्नेमा मुलुकका प्रतिष्ठित व्यक्तिहरु छन् । सांगीतिक कार्यक्रम र चलचित्र छायाङ्कनका लागि लैजाने व्यवस्थापकहरुले सम्बन्धित देशमा लुक्न सहयोग गर्ने गरेको पाइएको छ । त्यस्तै, खेल प्रतिस्पर्धामा लैजाने क्लब तथा संस्थाका व्यवस्थापकहरुले खेलाडीलाई त्यतै लुक्न प्रेरित गरेको पाइन्छ ।

ट्राभल एजेन्सीहरुले प्याकेज टूरका क्रममा केहीलाई उतै छाडेर फर्किने, विदेशमा हुने नेपाली उत्पादन प्रदर्शनमा जाँदा आफूसँगै लगेकालाई त्यतै छाडिदिने, बजार प्रवद्र्धनका लागि विदेश जाने पर्यटन व्यवसायी र वैदेशिक रोजगार व्यवसायीहरुका प्रतिनिधिहरु पनि उतै पलायन हुने र सँगै लगेकालाई लुक्न सहयोग पुर्याउने गरेको पाइएको छ ।

लायन्स क्लबजस्ता अन्तर्राष्ट्रिय क्लबका सदस्यहरुको समाज सेवाभन्दा विदेश भ्रमणमा ध्यान केन्द्रित छ । उनीहरुले पनि नेपालीलाई विदेशमा छाड्न सहयोगी भूमिका खेलेका छन् । दोस्रो मुलुकबाट तेस्रोमा जानका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ मिलिभगतमा नयाँ दिल्ली र अबुधाबीका नेपाली राजदूतावासले सहजै दिने गरेको धेरै घटनाले पुष्टि गरेको पाइन्छ ।

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश !

सरकारले भिजिट भिसामा विदेश जान विभिन्न प्रावधान तोकेको छ । जसमा प्रस्थान र आगमनको टिकट पहिल्यै काटेको, सम्बन्धित देशमा होटल बुकिङ्ग गरेको, पेपर वा स्टिकर भिसा हुनुपर्ने, सार्क मुलुक, थाइल्याण्ड र हङकङबाहेकका अन्य दुई मुलुक बसेको, कक्षा १२ उत्तीर्ण भएको, आम्दानीको स्रोत खुलाउन सक्ने, साथमा २५० डलरभन्दा बढी भएको, खातामा दुई लाखभन्दा धेरै रकम भएको लगायत हुनुपर्ने व्यवस्था छ ।

तर, कक्षा १२ उत्तीर्ण गरेको नक्कली सर्टिफिकेट, एकाघरको सदस्य नभएपनि नाता प्रमाणित तथा विवाह दर्ताको प्रमाणपत्र, अनलाइन सुविधा नभएको व्यक्तिका लागि नक्कली बैंक स्टेटमेण्ट, फिर्ता हुने नक्कली टिकट, नक्कली होटल बुकिङ्ग गरेर भिजिट भिसामा पठाउने गरिएको अनुसन्धानबाट खुलेको छ ।

अध्यामगनकै कर्मचारीको मिलेमतो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, प्रहरी र विभिन्न एअरलाइन्ससँगको मिलेमतोमा नक्कली कागजपत्रका आधारमा भिजिट भिसा बनाएर खाडी मुलुकमा मानव तस्करी हुने तथ्य बाहिरिइसकेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विमानस्थलस्थित प्रहरी सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवानसहित नक्कली कागजपत्र बनाउने समूहका दर्जन बढीलाई गत मंसिरमा नै पक्राउ गरेको थियो ।

आवश्यक कागजात अपुग भएका यात्रुहरुलाई टर्मिनलमा प्रवेश गर्नेबित्तिकै प्रहरीले पक्राउ गर्छ । त्यसपछि शुरु हुन्छ, मोलमोलाई । प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँ लिएर उनीहरुलाई छाड्ने गरेको स्रोत बताउँछ । म्यानपावर तथा ट्राभल्सहरुमार्फत आएका व्यक्तिको सूची पहिले नै प्रहरीसहितको गिरोहसम्म पुगिसकेको हुन्छ । उनीहरुलाई चेकजाँच गरेको बहानामा छाडिन्छ ।

विमानस्थलमा रहेका प्रहरी वरिष्ठ सई देवबहादुर शाहीले एकमुष्ठ रकम असुलेर प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दसम्म पुर्याउँदै आएको सहकर्मीहरुले नै व्यक्त गरेका थिए । एअरलाइन्स कम्पनीले भिजिट भिसामा जाने यात्रुहरुको बोर्डिङ्ग पास निकाल्न नमिल्ने गरी लक गरिदिन्छन् । त्यस्ता व्यक्तिको भिसा, टिकट र राहदानी चेक गरेर प्रतिव्यक्ति पाँचदेखि १० हजार रुपैयाँसम्म असुलेर बोर्डिङ्ग पास उपलब्ध गराउने धन्दा विमानस्थलमा निरन्तर चलिरहेको बताइन्छ ।

यस कार्यमा टर्मिनल ड्युटी कक्षमा कार्यरत नागरिक उड्डयन प्राधिकरणका चौथो तहका कर्मचारी कुबेर डाँगीको समेत संलग्नता रहेको पाइएको थियो । एक दशकभन्दा लामो समयदेखि विमानस्थलमा बसेका उनले भिजिट भिसामा जानेलाई सहजीकरण गरेबापत ८० हजार रुपैयाँसम्म उठाउँछन् । मानव बेचबिखन ब्यूरो, विमानस्थल, एअरलाइन्सका कर्मचारी, अध्यागमन कार्यालयका कर्मचारी र म्यानपावर कम्पनीबीच सिधा सम्पर्क छ । उनीहरुले साँठगाँठमा मानव तस्करी गर्दै आएका छन् ।

ब्यूरोले २० हजार, एअरलाइन्सले पाँच हजार, अध्यागमनले नयाँ यात्रुको हकमा ७५ हजार र एकपटक फर्केर आएकोको हकमा ४५ हजार रुपैयाँसम्म लिने गरेको छ । ट्राभल एजेण्ट तथा म्यानपावर व्यवसायीहरुले हवाई टिकट, कागजात निर्माण र सेटिङ्गसमेत गरी दुईदेखि चार लाख रुपैयाँ लिने गरेको विदेशबाट फर्किएकाहरुले बताएका छन् । अमेरिका र युरोपेली देशमा पठाउँदा १० देखि ७५ लाख रुपैयाँसम्म असुल्ने गरिएको पाइन्छ ।

व्यक्तिगत रुपमै घुमुवा खटाएर विमानस्थलका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी र सुकदेव खनाललेसमेत पैसा असुल्दै पर्यटन भिसामा पठाउने गरेको अर्को अध्ययनबाट खुलेको छ । मानव तस्करीको आरोपमा अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । अर्का अध्यागमन अधिकृत शैलेन्द्र ढकाल हाल प्रहरीको निगरानीमा छन् । गत वर्ष उनलाई अन्य इकाइमा सरुवा गरिएको भएपनि रमाना लिएको एक हप्ताभित्रै पुनः विमानस्थलमा फिर्ता भएका हुन् ।

भिजिट भिसामा पठाउने एजेन्सीहरु

एसओएस म्यानिन पावर सर्भिस, द रिभर ओभरसिज, वाइज इन्टरनेशनल प्रालि, अल अस्मास् कम्पनी, अक्सफोर्ड इन्टरनेशनल, प्याराडाइस इन्टरनेशनल, राज ओभरसिज प्रालि, ब्लू स्काई इन्टरनेशनल, ल्याण्डमार्क म्यानपावर सोलुशन, ल्याण्डमार्क एचआर कन्सल्टेण्ट म्यानपावर सप्लाईले भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गरेको छ ।

प्रकाशित मिति : २८ पुष २०८०, शनिबार ११:३२

लोकप्रिय