सूचनाको शक्ति - The Power Of Information

        

भालुवाङ बस दुर्घटना

बस दुर्घटनाका १२ मृतकमध्ये आठको सनाखत, दुई भारतीय नागरिक

घाइते २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक १२ जनामध्ये दुई जना भारतीय नागरिकसहित ८ जनाको पहिचान भएको हो ।

सात जनाको घटनास्थलमै, चार जनाको उपचार गर्न लैजाने क्रममा बाटोमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा नेपालगन्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडाका अन्दाजी ३५ वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजनको मृत्यु भएको छ ।

रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्रराम, भारतकै उत्तर प्रदेशको अतिकुल्ला खैरेका ३१ वर्षीय मुने र काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य चार जनाको सनाखत हुन सकेको छैन । उनीहरू करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । घाइते २२ जनामध्ये सात जनालाई बुटवल, नौ जनालाई नेपालगन्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको डिएसपी मल्लले जानकारी दिए । प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । नमस्ते यातायातको बसमा ३६ जना सवार थिए ।

सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाको छ । शुक्रबार राति नेपालगन्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

प्रकाशित मिति : २८ पुष २०८०, शनिबार ०९:०४

लोकप्रिय