बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिन अर्थात् माघ १ गतेदेखि काठमाण्डौ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी गएको बुधवार बेलुकीदेखि फेरि काठमाण्डौमा पथान्तरण गरिएको छ ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने सहमति भएअनुसार बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाण्डौ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाण्डौको सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।’ झन्डै २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम शुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले आउँदो माघ १ गतेदेखि काठमाण्डौ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पठाइएको सिनियर डिभिजनल इन्जिनियर कुँवरले बताउनुभयो ।
उहाँका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र मेशिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाण्डौ ल्याउने घोषणासमेत गर्नुभएको थियो । मेलम्चीको पानी तत्काल काठमाण्डौ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगत अनुगमनसमेत गर्नुभएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ