२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday

‘शिक्षकको मोबाइल दिनभर हेडसरले राख्नू, खाजा खाने बेला दिनु’

सत्यपाटी
सत्यपाटी । धादिङ
२०८० पुस २७ गते शुक्रबार

धादिङको निलकण्ठ नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा मोवाइल फोन चलाउन प्रतिबन्ध लगाएको छ । नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका नाममा पाँच बुँदे निर्देशन जारी गर्दै कक्षाकोठामा मोलाइल प्रयोग नगर्न, गर्नैपरे खाजा खाने समयमा मात्र प्रयोग गर्न र अन्य बेला प्रधानअध्यापकले मोवाइल सुरक्षित राख्न भनेको छ ।

‘खाजा खाने समयमा बाहेक शिक्षकहरुले कक्षाकोठामा मोबाइल फोनको प्रयोग गर्न नपाइने, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको मोबाइल फोन प्रधानध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने,’ नगरपालिकाका शिक्षा अधिकृत प्रकाशदत्त भट्टद्वारा जारी सूचनामा भनिएको छ । नगरपालिकाले सबै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र स्थायी शिक्षकहरुलाई ५० प्रतिशत अनुदानमा ल्यापटप समेत दिइसकेको भन्दै शैक्षिक कार्यमा ल्यापटप अनिवार्य प्रयोग गर्नसमेत भनेको छ ।

विद्यालय हाताभित्र जंकफुड, सुर्तीजन्य र मदिराजन्य पदार्थ निषेध गर्न निर्देशन दिँदै नगरपालिकाले हप्ताको दुई दिन विद्यालय सरसफाई गर्ने व्यवस्था मिलाउनसमेत भनेको छ । नगरपालिकाले सम्पूर्ण शिक्षक र कर्मचारीलाई विद्यालयले तोकेको पोशाक लगाएर विद्यालय जान र विद्यालय बाहेकमा यस्तो पोशाकको प्रयोग नगर्न भनेको छ ।

प्रकाशित मिति : २०८० पुस २७ गते शुक्रबार