सूचनाको शक्ति - The Power Of Information

        

चोरको बैंक खातामा ३४ लाख ७७ हजार बचत !

ललितपुरको ग्वार्कोबाट मंसिर २७ मा दुई जना चोरीमा संलग्न आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू हुन्, मकवानपुर घर भएका ३७ वर्षीय वीरबहादुर वाइबा र ३७ वर्षका रामकृष्ण लोप्चन । दुई जना मिलेर चोरी गर्ने उनीहरूलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ ।

अदालतको आदेश अनुसार दुवै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए । चोरीमा संलग्न कसुरमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरूको खातामा लाखौँ रकम मौज्दात रहेको भेटिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी घर भएर बालकुमारी बस्दै आएका वीरबहादुर बाइवाको खातामा ३४ लाखभन्दा बढी मौज्दात भेटिएको एसपी कार्कीले बताए ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी कार्की भन्छन्, ‘चोरीमा संलग्न वीरबहादुरको बैंक खातामा ३४ लाख ७७ हजार रुपैयाँ मौज्दात भेटिएको छ ।’ एभरेस्ट बैंक लिमिटेड र ग्लोबल आइएमई बैंकमा बाइवाले सो रकम जम्मा गरेका हुन् । तर, प्रहरीसँगको बयानमा आरोपीहरूले भनेका छन्, ‘हामीसँग बैंक खाता नै छैन ।’

अस्वाभाविक रकम मौज्दात भेटिएपछि वीरबहादुरबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको छ । एसपी कार्कीले भने, ‘आरोपीले अवैध स्रोतबाट रकम संकलन गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।’ ललितपुर महानगरपालिका–१५ स्थित मदन सिलवालको घरमा असोज ८ मा चोरी भएको थियो ।

सिलवालको घरबाट १५ लाख ९५ हजार बराबरको धनमाल वीरबहादुर र रामकृष्णले चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंसिर २७ मा पक्राउ गरेर अनुसन्धान गर्दा ती दुई अभियुक्तले थप दुई ठाउँमा चोरी गरेको तथ्य खुल्यो । उनीहरूले ललितपुर–१५ ताल्छिखेल स्थित सबिता रोक्काको घरबाट ४ लाख २० हजार बराबरको धनमाल र न्यु गोर्खाली खाद्य भण्डारबाट २० थान सुगम ग्याँसको खाली सिलिन्डर चोरेको प्रहरीको अनुसन्धानले जनाएको छ ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १३:४०

लोकप्रिय