सूचनाको शक्ति - The Power Of Information

        

सहकारी महासंघको अध्यक्षमा पहिलो पटक महिला, ओमदेवी मल्ल सर्वसम्मत

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत भएकी छन् । शुक्रबार बिहान सम्बद्ध पक्षको बैठकले मल्ललाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । महासंघको अध्यक्षमा सर्वसम्मत भएकी मल्ल महासंघको अध्यक्षमा पुग्ने पहिलो महिला हुन् ।

भारतबाट सहकारीमा डिप्लोमा गरेकी मल्ल अन्तराष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिमा सदस्य हुन् । उनी एसियाली देशहरूबाट अन्तर्राष्ट्रिय महासंघमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् । यस्तै अन्तर्राष्ट्रिय सहकारी महासंघमा प्रतिनिधित्व गर्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।

महासंघको निर्वाचनका लागि मतदाताहरूको नामावली प्रकाशनपूर्व नै अध्यक्षमा मल्ल सर्वसम्मत बनेकी हुन् । यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल सर्वसम्मत छन् । बाँकी पदहरुमा पनि सहमतिको प्रयास भइरहेको छ । सहमतिको प्रयास भएपनि यसअघि सार्वजनिक निर्वाचन कार्यक्रमअनुसार समितिले अघि बढाएको निर्वाचन समितिको भनाइ छ ।

संघको विनियमको दफा २२(१) वमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र सदस्यहरू गरी जम्मा २४ पदको र लेखा सुपरिवेक्षण समितिको संयोजक र सदस्यहरू ३ पदको निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि २८७ केन्द्रीय प्रतिनिधि कायम छन् । प्रतिनिधिहहरुमा बागमतीबाट ८८ जना, कोशी प्रदेशबाट ५८ सदस्य, मधेशबाट ३०, गण्डकीबाट ३७, लुम्बिनीबाट ३७, सुदुरपश्चिमबाट २३ र कर्णालीबाट १४ जना प्रतिनिधि रहेका छन ।

महासंघमा ३१८ सदस्य संघहरु आवद्ध रहेका छन् । महासंघको स्वीकृत निर्वाचन निर्देशिका अनुसार संचालक समितिमा महिलाका लागि ८ कोटा छ भने लेखासुपरीवेक्षण समितिमा कम्तिमा १ जना महिलाको अनिवार्य प्रतिनिधित्व हुन्छ । महिलाका लागि १ उपाध्यक्ष, ७ प्रदेशमध्ये बागमती र लुम्बनी प्रदेशबाट १–१ जना महिला अनिवार्य र अन्य ५ खुला प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी ९ खुला सदस्यका लागि ५ महिला कोटा छुट्टाइएको छ । लेखा सुपरिवेक्षण समितिमा १ महिलासहित तीन सदस्यीय समितिको निर्वाचन हुने छ । २८७ प्रतिनिधिमध्ये २९ जना महिला प्रतिनिधि कायम रहेका छन । मतदाता नामावलीमाथिको दबाविरोध गर्ने समय आजै १ बजेसम्म छ । अन्तिम मतदाता नामावली साढे १ बजे प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयनका लागि ४ बजेसम्मको समय दिइएको छ ।

उम्मेदवारविरुद्ध दाबीविरोध गर्नका लागि साढे ५ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली राति ९ बजे प्रकाशन गर्ने समितिको कार्यक्रम तय छ । कुनै पनि पदमा विधानको व्यवस्थाअनुसार आवश्यक पद भन्दा बढी व्यक्तिको उम्मेदवारी परे पुस २८ गते सवा १२ बजेदेखि साढे २ बजेसम्म मतदान गर्ने कार्यक्रम तोकिएको छ । त्यसपछि निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरिने महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १०:३८

लोकप्रिय