सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस नेतृ आरजूलाई बिहे गर्ने लाइसेन्सको चिन्ता !

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा सो पार्टीकी नेतृ आरजू राणाले ’विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । संघीय संसदको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिसमेत रहेकी उनले बिहीबार ललितपुरको एक कार्यक्रममा सो धारणा राखेकी हुन् ।

नेतृ तथा सांसद आरजूले सानै उमेरमा हुने विवाह रोक्नको लागि ’विवाह लाइसेन्स’को व्यवस्था उपयोगी हुने बताइन् । विवाह गर्नुपूर्व लाइसेन्स लिनुपर्ने अनिवार्य व्यवस्था गर्नसके कम उमेरमा बिहे गर्ने परिपाटी अन्त्य हुने उनको विश्वास छ । विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने उनले उल्लेख गरिन् ।

त्यसका लागि वडा तहदेखि नै कानूनी रुपमा नीति बनाउन आवश्यक रहेकोसमेत आरजूको तर्क छ । अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको बताउँदै उनले बालविवाह,महिला हिंसा,बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनेमा जोड दिइन् ।

आरजूले भनिन्, ‘विवाहको लागि लाइसेन्स लिने व्यवस्था राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन शुरु नगर्ने त ? २०३० सम्म जुन च्यालेन्ज मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियो भने हुन्छ । विवाह दर्ता गर्न पहिला नै लाइसेन्स लिनुपर्यो ।’ उनले पहाडी जिल्लाहरुमा विद्यालय उमेरमै विवाह गरिदिने चलन रहेको जनाउँदै अभिमुखिकरणमा जोड दिनुपर्ने पनि बताएकी छन् ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार ०८:१५

लोकप्रिय