गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ ।
तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।
तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।
पुस २८ गतेदेखि माघ २० दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
गत वर्ष पनि सो खण्डमा पुलका लागि भन्दै पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।
तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर यसपटक चट्टान काट्न थालिएको थियो ।
आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी आचार्यका अनुसार रक स्प्लीटर, हाइडो«लिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएको छ ।
गत बर्षको भन्दा यसपटक प्रगति पनि अपेक्षाकृत नै रहेको उनले बताए । यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो ।
गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाँउबाट चट्टान काट्ने प्रयास गरिएको थियो । गत बर्ष झण्डै ३० प्रतिशत मात्रै भित्तो काट्न सकिएको थियो । तुइन खोलाको नारायणगढतर्फको भाग भने अधिकांश काटिसकिएको छ ।
पछिल्लो तीन हप्तामा सडक बन्द गरेर ३५ मिटर अग्लो पहाडलाई १५ मिटर काटेर २० मिटरमा झारिएको आयोजनाले जनाएको छ । बाँकी २० मिटर थपिएको ३ हप्ता भित्र काट्ने योजना छ ।
जमिनको सतह नजिकै ल्याएपछि सवारी नरोकिकन पनि काम गर्न सकिने आयोजनाले जनाएको छ । दैनिक ४ घण्टा भनेपछि ३ घण्टाभन्दा बढी समय ठेकेदार कम्पनीले काम गर्न नपाएको आयोजनाले दावी छ ।
यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुलमध्ये यहीँ तुइन खोलाको पुलको काम मुख्य रुपमा बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आएका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।
माघ १ गते सडक बन्द नहुने
दैनिक ४ घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड माघ १ गते भने दिनभर नै खुला रहने आयोजनाले जनाएको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले सूचना निकालेर जनाएको छ ।
सो दिन निर्वाध रुपमा नारायणगढतर्फ आउन र जान सकिने आयोजनाको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ