२४ मंसिर २०८० आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट बिहान ९ः३१ बजे तारा एयरको ९एन–एएलओ कल साइन भएको १३ वर्ष पुरानो डिएचसी–६ ट्विन अटर विमानले चालक दलका दुर्ई सदस्य र दुई जना यात्रुसहित लुक्लातर्फ नियमित उडान भर्यो ।
हवाई दूरी ८४ नटिकल माइल अर्थात् १३५ किलोमिटर पार गर्दै ३५ मीनेटपछि फुल्चोकी डाँडाभन्दा २०० फिट बढी उचाइको अर्थात् समुद्री सतहबाट ९३८३ फिट अग्लो लुक्ला विमानस्थलमा सकुशल अवतरण गर्यो ।
विमानबाट बाहिरिएपछि चालक दलका सदस्यले फ्लाइट कन्ट्रोल सिष्टमका एलिरोन, ट्रिम, ट्याब, रडर, फ्ल्यापदेखि लिएर फ्युजलाज होल एयरक्राफ्ट बडी स्ट्रक्चर निरीक्षण गर्ने क्रममा आकस्मिक द्वारको सिसा खसेको पाएर लुक्ला एटिसीसहित आफ्नो हेडक्वार्टरलाई जानकारी गराए ।
लुक्लाले काठमाडौँ विमानस्थलको एटिसी र काठमाडौँ एटिसीले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो । विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि समाधान नभएसम्म उक्त विमानले उडान नभर्ने तय भयो । भाइरलको जमाना हो, एक कान दुई कान हुँदै तारा एयरको ढोका झर्यो, पाइलटले पत्तो पाएनन् भनेर बाहिर सनसनी फैलियो ।
मुख्यतः विमान प्रेसराइज र ननप्रेसराइज हुन्छन् । प्रेसराइज विमानले ३५÷४० हजार फिटको उचाइसम्म उडान भर्न सक्छन् । सामान्य किसिमबाट हामीले श्वास लिन सक्ने भनेको उचाइ ११ हजार फिटसम्म हो । त्योभन्दा माथि जान विशेष वातावरण सिर्जना गर्नुपर्ने हुन्छ ।
त्यही सिष्टम र सुविधा प्रेसराइज विमानमा हुन्छ । प्रेसराइज भनेको फुटबलमा हावा भरिएजस्तै हो । कहिलेकाहीँ यो सिष्टम फेलियर भए विमानमा भएको अक्सिजन सिलिण्डरबाट यात्रुलाई आपूर्ति गरिन्छ । यो केही समयसम्मका लागि मात्रै हो ।
तबसम्म विमानले उचाइ घटाएर ११ हजार फिट कायम गरिसक्नुपर्छ या कुनै नजिकै आफ्नो मापदण्ड सुविधाअनुसारको विमानस्थलमा अवतरण गर्नुपर्छ । तर ननप्रेसराइज विमानले १२ हजार ५०० फिटभन्दा माथि उडान भर्दैन । विमानमा स–साना छिद्रबाट हावा भित्रिने–बाहिरिने गरे पनि त्यसबाट ठूलो असर अनुभव हुँदैन ।
त्यसमा पनि दुई यात्रु मात्रै भएको र सिसा झरेको झ्यालतर्फ कार्गो सामान भएको हुनाले यसको भेउ र छनक कसैले नपाएको हुन सक्छ । प्रारम्भिक आशंका विमानमा राखिएको कार्गो सामानको प्रेसरले सिसा टुटेको हुन सक्छ भन्ने छ ।
यो घटनालाई सामान्य सोसल युजरले जस्तो मिडियाले पनि टाउको छिर्न नसक्ने झ्यालको सिसालाई ढोका बनाएर प्रचार गरिदिएको पाइयो । कारण जे भए पनि यस्तो त्रुटि हुनुहुँदैन । नागरिक उड्डयन भनेको सतप्रतिशत सुरक्षित हुनुपर्छ । सेवाप्रदायक र नियामक निकायले बेलैमा यसतर्फ ध्यान दिन जरुरी छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं